११ मंसिर २०८३, शुक्रबार

पौडेलको निर्माणाधिन रिसोर्टको निर्माण रोक्न इटहरी उपमहानगरको अल्टिमेटमसहितको पत्र 

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २० कात्तिक । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले करोडौं लगानीमा खोला नै मिचेर अवैध हिसाबले रिसोर्ट बनाएको भन्दै त्यसलाई रोक्न उपमहानगरपालिकाले पत्र काटेको छ ।

उक्त रिसोर्ट निर्माणको काम तत्कालै रोकी वैधानिकता लिएका कागजपत्रसहित उपस्थित हुन इटहरी उपमहानगरपालिकाले पौडेललाई पत्र पठाएको हो ।

इटहरी–२ तालतलैया पश्चिम दक्षिण सेहरा खोला नै मिचेर पौडेलले रिसोर्ट निर्माण गरेका हुन् । उपमहानगरपालिकालगायत कुनै पनि निकायसँग इजाजत र अनुमति नलिई पक्की संरचना धमाधम बनिरहेको उपमहानगरमा परेको उजुरीमा उल्लेख छ ।

उपमहानगरपालिकाले तत्काल निर्माण रोकी तीन दिनभित्र उपस्थित हुनका लागि मंगलबार पौडेलका नाममा पत्र काटेको हो ।

हेर्नुहोस् पत्र

खोलाका सामान्य मापदण्ड समेत कायम नगरी पक्की संरचना बनेको उजुरीका आधारमा तीन महिनासम्मको अध्ययनपछि उपमहानगरपालिकाले पौडेललाई निर्माण रोक्न पत्र काटेको हो ।

‘उजुरी परेका आधारमा त्यसलाई तत्काल रोकी वैधानिकता लिएको भए त्यसका आधिकारीकतासहित उपस्थित हुन पत्रका पठाइएको हो’, उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले भनिन्,‘उजुरी आएपछि उक्त विषयमा मिहिन अध्ययन गरेपछि पत्र पठाएका हौं ।’

पौडेलले निर्माण गरेको रिसोर्ट खोलामाथि मात्र नभएर सार्वजनिक जग्गा, स्थानीय विद्यालयको जग्गामा समेत रहेको दाबी गरिएको छ ।

पौडेलले सार्वजनिक जग्गा र खोलामा त्यसरी बनाएको पक्की संरचना भत्काउन नगरपालिकाले अल्टिमेटम दिन सक्छ । उक्त समयमा पनि नभत्काएको खण्डमा मेयरले डोजर लगाउन सक्छन् र त्यसको खर्च पनि सम्बन्धित धनीबाट असुल गर्न सक्ने अधिकार छ ।

तर अवैध हिसाबले आफूले कुनै पनि काम नगरेको पौडेलको दाबी छ । ‘हामीले नक्सा पेस गरेका छौं, प्रक्रियामा पुगेको छ । अरु केही बनाएका छैनौं, आफ्नो जग्गाभित्र कन्ट्रक्सनको काम सुरु गर्नुअघि पर्खालचाहिँ लगायौं’, पौडेलले भने ।

विद्यालयको जग्गा समेत अतिक्रमण गरेको विषय गलत भएको दाबी गर्दै उनले भने,‘विद्यालयको एक विग्गाह भन्दा धेरै जग्गा २० बर्षका लागि लिजमा लिएका छौं, कम्पनीको ६४ कट्ठा जग्गामा नेपालकै आधुनिक फन पार्क बनाउन लागिएको हो ।’

उपमहानगरको पत्र आफूले पाएको भन्दै छलफलका लागि बुधबार कार्यालय समयमा पुग्ने पौडेलले बताए ।

तालतलैया क्षेत्र इटहरीको पर्यटन गन्तव्य भएका कारण पौडेलले ठूलो लगानीमा रिसोर्ट बनाउन थालेका हुन् । पौडेलले इटहरीमा तारे होटललगायतमा पनि लगानी गरेका छन् ।