काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक भागबण्डाका आधारमा आयुक्तहरुको नाम सिफारिस गरिएको छ ।
संवैधानिक परिषद्को शुक्रबार बसेको बैठकले अख्तियारको रिक्त आयुक्त पदमा पाँच जनाको नाम नियुुक्तिका लागि सिफारिस गरेको हो ।

स्रोतका अनुसार, काँग्रेस कोटाबाट सिफारिस हुनेमा काँग्रेस कोटाबाट डा सावित्री गुरुङ (भोजपुर), एमाले कोटाबाट नविनकुमार घिमिरे (झापा), एमाओवादी कोटाबाट डा गणेशराज जोशी (लमजुङ), राप्रपाको कोटाबाट दिप बस्न्यात (उदयपुर) र मधेशी दलहरुका दलबाट साझा रुपमा राजनारायण पाठक (महोत्तरी) लाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।
नियुक्तिका लागि परिषद्ले सिफारिस गरिएका नामलाई संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेर पारित गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानुनी प्रावधान छ ।
सभामुख सुवास नेम्वाङका अनुसार, निर्वाचन आयोगमा एक आयुक्त पद रिक्त भएपनि चाँडै अन्य पदमा पनि रिक्त हुन लागेकाले सबै पदमा एकैसाथ सिफारिस गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
संवैधानिक परिषद्को विहिवारको बैठकले लोकसेवाका रिक्त अध्यक्षमा उमेश मैनालीसहित छ सदस्यको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष रहनु भएको परिषद्को सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानमन्त्रीले तोकेका तीनजना मन्त्री रहने संवैधानिक व्यवस्था छ ।
















प्रतिक्रिया