काठमाडौँ, १५ फागुन । प्रमुख राजनीतिक दलका नेताहरूले सहमतिकै आधारमा संविधान जारी गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले सहमतिका साथ संविधान बनेमात्र देश दिगो विकासको गतिमा अगाडि बढ्ने बताउनुभयो ।
अघिल्लो संविधानसभामा ८० प्रतिशत काम सकिएको स्मरण गराउँदै त्यसलाई ग्रहण गरेर छिटो देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । विवादित पाँच जिल्लालाई जनमतसङ्ग्रहको माध्यमबाट टुङ्याउनुपर्ने उहाँको भनाइ थियो ।
नेकपा ९एमाले० का उपाध्यक्ष युवराज ज्ञवालीले सङ्ख्याको आधारमा संविधान जारी गर्ने भए माघ ८ मै संविधान बन्ने थियो भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामी सहमतिको आधारमै संविधान निर्माण गर्ने पक्षमा छौँ ।” उहाँले विवादित विषयलाई थाती राखेर भएपनि देशलाई संविधान दिनुपर्ने भन्दै जातीय र क्षेत्रीयताको आधारमा विखण्डन हुने खालको संविधान जनतालाई स्वीकार्य नहुने पनि बताउनुभयो ।
एनेकपा ९माओवादी० का नेता टोपबहादुर रायमाझीले सहमतिका लागि राजनीतिक दलविच तल्लो स्तरबाट वार्ता हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीले दुई पटक वार्ताको आह्वान गर्नु सकारात्मक कदम भएको भन्दै सहमतिको ग्यारेन्टी भए आफूहरू तत्काल वार्तामा बस्ने पनि उहाँले बताउनुभयो ।
उहाँले पाँच जिल्लाको विवादले सहमति हुन नसकेकाले सत्तारुढ दलका शीर्ष नेतालाई आफ्नो अडानबाट पछि हट्न आग्रह गर्नुभयो । माओवादीले सहमतिका लागि कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो ।















प्रतिक्रिया