
काठमाडौं, १६ कात्तिक । १३ असोजमा काठमाडौंको तीनकुनेमा रोशनी शाहीको डेरामा भएको घटनामा निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको अभियोगको बयान शुक्रबार जिल्ला अदालत काठमाडौंमा प्रक्रियामा पुगेको छ ।
सो क्रममा महरासँग जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेले बन्द इजलासमा महराको बयान लिएका थिए । महराले सो क्रममा आफू शाहीको कोठामा नपुगेको, त्यस ठाउँमा उत्रिएको बयान दिए ।
त्यतिमात्र होइन, महराले आफू निर्दोष रहेको सावित गराउनका निम्ति शाहीको पछिल्ला पटक आएका दुई भिडियोलाई प्रमाणका रुपमा पनि पेस गरेका छन् । खासगरी महराविरुद्ध बोलेको भिडियो अघिल्लो दिन सार्वजनिक भएपछि दबाबमा रहेका शाहीले भोलीपल्ट नागरिकखबर डटकम र अन्नपूर्ण पोष्टका लागि दिएको भिडियोलाई महराले आफू निर्दोष रहेको प्रमाणका रुपमा पेस गरेका छन् ।
जबकि, सरकारी वकिलको कार्यालयले शाहीको अघिल्लो दिनको भिडियो, महराको फोन कल, म्यासेज, सीसीटिभी फुटेज, चश्माको टुक्रालगायतका प्रमाण पेस गर्दैछ ।
आइतबार सोही विषयमा थुनछेक बहस सुरु भएपछि महराविरुद्ध सरकारी वकिलको कार्यालयले आवश्यक प्रमाण पेस गर्नेछ । स्रोतका अनुसार प्रमाण मेटाउनका लागि महराका कतिपय फोन फुटाइएका छन् । तर ल्याबटेस्टका आधारमा सबै प्रमाणलाई सरकारी वकिलले पेस गर्न सक्नेछ ।
प्रहरीले ७ बर्ष कैद र जरिवानासहितको राय दिएर प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले भने ५ बर्ष थुनाको मागदाबी सहित मुद्दा दर्ता गराएको थियो ।
यसैबीच महराका पक्षमा पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठसहितका ३० वकिलले वकालत गर्ने भएका छन् ।















प्रतिक्रिया