
काठमाडौं, ७ कात्तिक । चिनियाँ राष्ट्रपति सी चिन फिङको भ्रमण सकिएको केही समयपछि नै विश्व महाशक्ति अमेरिकाले नेपालमा परेको अन्तर्राष्ट्रिय प्रभावबारे धारणा सार्वजनिक गरेको छ ।
उसले तिब्बती शरणार्थी र धार्मिक अल्पसंख्यकको विषयलाई लिएर नेपालमा चिनियाँ प्रभाव बढेको प्रतिक्रिया दिएपछि यसले चर्चा पाएको छ ।
अमेरिकी संसदको विदेश मामिलासम्बन्धी एक उपसमितिमा बोल्दै विदेश मन्त्रालयकी दक्षिण एवम् मध्य एसीया हेर्ने कार्यबाहक उपमन्त्री एलिस जी वेल्सले नेपालमा चीनको प्रभाव निक्कै तिव्र भएको कुरा उठाएपछि यसले चर्चा पाएको हो ।
उनले लिखित भनाई राख्दै तिब्बती धार्मिक समुदायप्रति प्रतिबन्ध लगाएको, दलाई लामाको जन्मदिन मनाउन रोकिएकोलगायतका कुरा उठाएकी थिइन् । यसमा चीनको परोक्ष दबाब रहेको उनको भनाई थियो ।
‘नेपालमा धार्मिक स्वतन्त्रता अझै चुनौतिको रुपमा रहेको छ, धार्मिक अल्पसंख्यक जोखिममा रहेको पाइएको छ’, वेल्सले भनेकी छन्,‘अभिव्यक्ति स्वतन्त्रताका विषयमा अनलाइन मिडियामा अवरोध पनि गरिएको पाइएको छ ।’
दुई ठूला छिमेकी चीन र भारतको बीचमा रहेका कारण नेपालमा दुवै देशको प्रभाव अन्यभन्दा केही धेरै रहे पनि अमेरिकाले बेलामौका भारतलाई पनि प्रभाव राख्न सफल भएको दोष दिँदै आएको छ ।
केही महिना अघि अमेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा नेपालमा भारतको संस्थापन भारतीय जनता पार्टीले हिन्दूत्वका लागि ठूलो लगानी गरेको भन्ने विवादास्पद विषय उठाएको थियो ।
उसले नेपालमा क्रिश्चियन धर्मावलम्बीलाई समस्या रहेको संकेत गर्दै भारतको प्रभाव बलियो रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
विश्वमा ठूला र आणविक रुपमा शक्तिशाली बन्दै गएका चीन र भारतको नेपालमा रहेको प्रभावका विषयमा अमेरिकी चासो दुई दशकयता बढेको पाइएको छ । नेपाल मामिलामा अमेरिकाको यो चासोलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, नेपाल सरकारले आफूलाई असंलग्न मुलुक, सार्वभौमसत्ता सम्पन्न रहेका कारण छिमेकीसँग समान व्यवाहार रहेको प्रतिक्रिया दिँदै आइरहेको छ ।















प्रतिक्रिया