हेटौँडा, १४ फागुन । मकवानपुरको दुई छुट्टाछुट्टै ठाउँमा विहीवार परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय राक्सिराङ–८ का सूर्यबहादुर प्रजा र मन्थली गाविस–३ का युवराज घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मन्थली घटनामा अन्य तीन जना घाइते भएको र उनीहरूलाई उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
यस्तै, दोलखाको जिरी नगरपालिका–७ खावा डाँडामा चट्याङ पर्दा तीन घर जलेर नष्ट भएको छ ।
चट्याङ परी तत्कालै आगलागी हुँदा जिरी–७ का याङदोर्जी शेर्पा, पाल्देन शेर्पा र निमा दार्जी शेर्पाको घर जलेर नष्ट भएको हो ।
बिहानदेखि परेको वर्षा र हुरी बताससँगै आएको चट्याङले तीन घर नष्ट हुँदा तीन परिवारका १२ जना विचल्लीमा परेका छन् ।
विचल्लीमा परेका परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । जिरी-७ खावाडाँडामा रहेको पाल्देन शेर्पाको घरमा जिरीस्थित रेडियो हिमालीको टावर रहेको र सोही टावरमा चट्याङ पर्दा घरमा आगलागी भएको स्थानीय डुके शेर्पाले बताउनुभयो ।
चट्याङबाट रु ५० लाखभन्दा बढीको क्षति भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । तीन घण्टापछि स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय जिरीको पहलमा आगो नियन्त्रणमा आएको थियो ।
















प्रतिक्रिया