काठमाडौं, १४ फागुन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले सत्तारुढ दलहरुले सहमति नचाहेकाले आन्दोलन गर्नुपरेको बताउनुभएको छ ।
एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाका पश्चिम कमाण्डर समेत रहेका नेता भट्टराईले राजधानी आएर सत्तारुढ दलका प्रमुख नेताहरु सहमति भाँडन लागिपरेको आरोप लगाउनुभयो । ‘हामी सहमतिबाटै अगाडी बढौं भन्ने पक्षमा छौं, तर कांग्रेस एमालेका शिर्ष नेताहरु बहुमतले जान्छौं, सहमति मान्दैनौं भनिरहेका छन्,’ पश्चिम भ्रमण सकेर राजधानीमा आयोजित पत्रकार भेटघाटमा नेता भट्टराईले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री सुशील कोइराला र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति गर्नै नचाहेको टिप्पणी गर्नुभयो । ‘बाह्रबुँदे सहमति र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरुलाई पाखा लगाएर उहाँहरु संविधान बनाउछु भन्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘परिवर्तनकारी शक्तिलाई समावेश नगराएर बनाइने संविधान धेरै दिन टिक्दैन् ।’
सहमति विरोधीहरुलाई अब आन्दोलनबाटै घुडाँ टेकाउने उहाँको भनाई छ । फागुन १६ गतेको आन्दोलन निर्णायक भएको बताउँदै सफल पार्न कार्यकर्तालाई आव्हान समेत गर्नुभयो ।
पश्चिमबाट फर्केर काठमाडौं आइपुगेका नेता भट्टराईले एमाओवादीलाई पश्चिमका जनताले पूर्ण साथ दिने दावी गर्नुभयो । ‘वर्तमान परिस्थतीमा पश्चिमका जनता आगो बनेका छन् । आन्दोलनमा पूर्ण समर्थन भएको मैले पाएको छु ।’ उहाँले भन्नुभयो ।
उहाँले भारत भ्रमण नितान्त सांगठनिक कार्यक्रम भएको स्पष्ट पार्नुभयो । भारतस्थित मुम्बईमा १७ गते हुन लागेको प्रवासी नेपालीहरुको संगठन एकता समाजको सम्मेलनका लागि नेता भट्टराई फागुन १६ गते जनसभालाई सम्बोधन गरेर दिल्ली जादैछन् ।
















प्रतिक्रिया