परासी, १४ फागुन । प्रजातन्त्र सेनानी तथा पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी प्रेमबहादुर गुरुङको ९६ वर्षका उमेरमा बुधबार राति नवलपरासीको कावासोतीस्थित आफ्नै निवासमा निधन भएको छ ।
भारतीय सेनाको जागिर छाडेर २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापनाका लागि क्रियाशील गुरुङ बिपी कोइरालाको विश्वास पात्र रहँदै केही समय अङ्गरक्षकका रुपमा समेत रहनुभएको थियो । गुरुङले २०१५ सालमा नेपाली काँग्रेसको सरकार रहेका समयमा नेपाल प्रहरीमा प्रहरीमा नायब उपरीक्षकका रुपमा प्रवेश गर्नुभएको थियो ।
प्रजातन्त्र स्थापनामा पु¥याएको योगदानको कदर गदै काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विसं २०६१ मा प्रजातान्त्रिक सेनानीका रुपमा उहाँलाई सम्मान गर्नुभएको थियो । त्यस्तै उहाँ नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा समेत सहभागी हुनुभएको थियो । हाल नगरपालिकाका रुपमा रहेको कावासोती शिवबस्ती बसाल्ने श्रेयसमेत गुरुङलाई जान्छ । उहाँले विसं २०२८ मा तत्कालीन सरकारले अनुमति नदिएको अवस्थामा समेत बाराको तामागढीबाट १९९ घरधुरीलाई हालको कावासोती क्षेत्रमा ल्याएर बसोवास गराउनुभएको थियो । पछि उहाँकै पहलमा २०२९ सालमा यहाँको बस्तीले आधिकारिकता पाएको थियो । उहाँले तत्कालीन अवस्थामा कावासोतीको पहिलो प्रधानपञ्च भएर करिब १० वर्ष कार्य गर्नुभएको थियो भने कावासोती क्षेत्रमा स्थापित विभिन्न सङ्घसंस्थाको स्थापनामा पनि निरन्तर लागिपर्नुभएको थियो ।
उहाँको शव आज श्रद्धाञ्जलिका लागि कावासोती प्रहरी कार्यालय अगाडि रहेको खुला चौरमा राख्ने कार्यक्रम छ । रासस















प्रतिक्रिया