
काठमाडौँ, २४ असोज । ६४ औ प्रहरी दिवसको अवसरमा महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्र चन्द ‘पूर्ण शान्ति पुरस्कार’ ले सम्मानित भएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रवार आयोजित कार्यक्रममा महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले २१ हजार नगद र ताम्रपत्रसहित चन्दलाई सम्मान गरेका हुन् ।
पछिल्लो डेढ वर्षयता महाशाखाबाट भएका इन्काउन्टर, विभिन्न आपराधिक समूहका अभियुक्त पक्राउ लगायतका विशेष अपरेसनमा उत्कृष्ट रुपमा काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले चन्दलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
प्रहरी प्रधान कार्यालयले हरेक बर्ष प्रहरी दिवसको दिन उच्च जोखिम मोलेर काम गर्ने एक प्रहरी कर्मचारीलाई ‘पूर्ण शान्ति पुरस्कार’ले सम्मानित गर्ने गर्दै आएको छ ।
प्रहरीमा विशेष महत्वपूर्ण मानिने ‘पूर्ण शान्ति पुरस्कार’ पाउने सई चन्द व्यावसायिक अधिकृत मानिन्छन् । लामो समयदेखि अपराध महाशाखामा कार्यरत उनी ‘इन्काउन्टर स्पेशलिस्ट’को रुपमा समेत चिनिन्छन् ।
हालका आईजी सर्वेन्द्र खनाल अपराध महाशाखाको प्रमुख हुँदा गरिएको गुण्डा नाइके कुमार घैटे इन्काउन्टरको नेतृत्व पनि उनै चन्दले गरेका थिए ।
हालका सांसद तथा पूर्वडीआईजी नवराज सिलवाल काठमाडौं प्रहरी प्रमुख हुँदा गुण्डानाइके कुमार घैटेलाई लाजिम्पाटको शंकर होटेलबाट चन्दले नै गोली हानेर नियन्त्रणमा लिएका थिए ।
चन्दसंगै महाशाखाको इन्टेलिजेन्स पिलरमा कार्यरत प्रहरी जवान रामकृष्ण आचार्यलाई अपराध नियन्त्रण तथा अनुसन्धानमा उत्कृष्ट सहयोगीको भुमिका खेलेको भन्दै आईजी खनालले पुरस्कृत गरेका छन् ।
प्रहरी दिवसको अवसरमा शुक्रबार विभिन्न विधामा सर्वोत्कृष्ठ प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरी प्रधान कार्यालयले नगद तथा प्रसंशा पत्र प्रदान गरेको छ ।











प्रतिक्रिया