
काठमाडौँ, २४ असोज । ६४औं प्रहरी दिवसको अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले उत्कृष्ट प्रहरी व्यवस्थापक पुरस्कार पाएका छन् ।
प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाको प्रमुखको रुपमा कार्यरत थापाले आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले उनलाई उत्कृष्ट प्रहरी व्यवस्थापक पुरस्कार प्रदान गरेका हुन् ।
प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) यादव अधिकारीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
सतहत्तर जिल्लाका प्रहरी प्रमुखहरुमध्ये मोरङका तत्कालिन एसपी मनोज केसी उत्कृष्ट भएका छन् । प्रहरी प्रधान कार्यालयले गरेको अन्तरजिल्ला कार्यदक्षता मूल्याङकनमा केसी उत्कृष्ट भएका हुन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालीन एसपी हृदय थापाले दोस्रो र जिल्ला प्रहरी कार्यालय सुर्खेतका तत्कालीन एसपी बसन्त रजौरेले तेस्रो पुरस्कार पाएका छन् ।
साथै, विभिन्न प्रहरी अधिकारीहरु पनि कार्यक्रममा सम्मानित र पुरस्कृत भएका छन् ।












प्रतिक्रिया