
काठमाडौँ, २४ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा-जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ ।
उनी आउँदा तीन घण्टा र फर्किँदा तीन घण्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान बन्द हुनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी तेजबहादुर पौड्यालले सी आउँदा-जाँदा तीन /तीन घण्टा अरू सबै उडान बन्द हुने पुष्टि गरे ।
नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी भोलि दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यक्रम छ । भारतको चेन्नई हुँदै काठमाडौं आइपुग्ने सी २६ गते दिँउसो १२ः३० मा स्वदेश फर्कनेछन् ।
चिनियाँ राष्ट्रपति काठमाडौं आइपुग्दा भोलि दिउँसो ३ बजेदेखि ५ः३० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान र अवतरण हुनेछैनन् ।
त्यस्तै, सी फर्कंदा २६ गते बिहान ११ बजेदेखि करीब १ः३० सम्म पनि अरू उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयले अहिलेसम्म उडान प्रभावित हुने समय तालिका औपचारिक रुपमा सार्वजनिक गरेको छैन। सूचना अधिकारी पौड्यालका अनुसार यसबारेमा छलफल चलिरहेको र साँझसम्म औपचारिक सूचना जारी गर्ने तयारी छ ।
निजी विमान कम्पनीहरूले भने यसअघि नै उडान प्रभावित हुने सूचना जारी गरिसकेका छन् ।















प्रतिक्रिया