११ मंसिर २०८३, शुक्रबार

कर्णालीका ५० गाउँलाई तीन वर्षमा नमुना बनाइने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २३ असोज । कर्णाली प्रदेशका ५० वटा गाउँलाई आगामी तीन वर्षभित्र नमुना गाउँ बनाउने तयारी शुरु भएको छ ।

नमूना समाज सुर्खेतको सहजीकरण तथा स्थानीय तहको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटका ती गाउँलाई नमुना गाउँ बनाउन लागिएको हो ।

सुर्खेतको सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, चिंगाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, जाजरकोटका भेरी नगरपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिका, जुनिचाँदे गाउँपालिका तथा दैलेखको ठाटीकाँध र गुराँस गाउँपालिकामा नमूना गाउँ बनाइने नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

उहाँले हाल तीनवटै जिल्लामा नमूना गाउँ व्यवस्थापन समिति गठन गर्ने काम भइरहेको बताउनुभयो । हालसम्म १४ वटा व्यवस्थापन समिति गठन भइसकेका छन् । गाउँ छनौट गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिइएको छ ।

नमूना गाउँ बन्नका लागि पहिलो वर्ष मानव विकास सूचाकाङ्कसँग सम्बन्धित सशक्तीकरण र जनचेतनामूलक, दोस्रो वर्ष भौतिक पूर्वाधार तथा सीप विकास, अन्तिम तथा तेस्रो वर्ष स्थानीय तहलाई हस्तान्तरण गरिनेछ ।

“हरेक नमूना गाउँमा कम्तीमा २० जना स्वरोजगार हुने गरी योजना बनाइनेछ”, कार्यकारी निर्देशक घर्तीमगरले भन्नुभयो, “नमूना गाउँका लागि नौ वटा मुख्य सूचकलाई आधार बनाई १०५ सहायक सूचक हरेक वर्ष पूरा गर्नुपर्छ ।”

शिक्षा, स्वास्थ्य, पोषण सुधार, खानेपानी तथा सरसफाइ, जीविकोपार्जन, वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन, सशक्तीकरण र अधिकार, महिला–पुरुष समान नेतृत्व र लघु भौतिक पूर्वाधारका योजनाहरु गरी नौवटा मुख्य सूचक रहेको नमूना समाज सुर्खेतले जनाएको छ । –रासस