
काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पिताको हातबाट टीका ग्रहण गरेका छन् । उनले दशैंको टीकाको शुभ-साइत भन्दा केही ढिला गरी पिताको हातबाट लगाएका हुन् ।
पिता मोहनप्रसाद ओली गृहजिल्ला झापाबाट आउन ढिला भएका कारण प्रधानमन्त्रीले शुभ-साइतमा टीका लगाउन नपाएका हुन् । टीकाको शुभसाइत बिहान १०:३५ मा रहेपनि झापाबाट जहाजको उडान ढिलो भएकोले प्रधानमन्त्रीले दिउँसो साढे दुई बजेतिर पिताको हातबाट दशैंका टीका ग्रहण गरेका उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका पिताले ओली र उनकी धर्मपत्नी राधिका शाक्यलाई धार्मिक विधिपूर्वक टीका, जमरा तथा प्रसाद प्रदान गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले धर्म पत्नी राधिकालाई टीका र जमरा लगाइदिएका थिए ।
बुबा आउन ढिला भएपछि प्रधानमन्त्रीले निर्धारित कार्यतालिकाअनुसार यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका थिए । प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति भण्डारीबाट दशैंको टीका ग्रहण गरेका हुन् ।
प्रधानमन्त्रीले अब केही समयपछि मन्त्रीसहित विशिष्ट तथा विभिन्न पार्टीका नेतालाई टीका लगाइदिने योजना बनाइएको उनको सचिवालयले जनाएको छ । पार्टीका कार्यकर्ता तथा सर्वसाधरणलाई अपराह्न ४ बजेदेख बेलुका सात बजेसम्मको समय तोकिएको छ ।











प्रतिक्रिया