१४ कार्तिक २०८३, शनिबार

नेपालगञ्जको विकासमा विशेष चासो छ : मुख्यमन्त्री पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राँझा, १८ असोज । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्जको विकासमा प्रदेश सरकारले विशेष चासो दिएको बताउनुभएको छ ।

नवनिर्मित बसपार्कको आज उद्घाटन गर्दै उहाँले प्रदेशको औद्योगिक शहरका रुपमा नेपालगञ्जलाई विकास गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो ।

“केही सरकारी कार्यालय विस्थापन हुँदैमा नेपालगञ्जको विकासको गति रोकिँदैन, नेपालगञ्ज विकासको प्रक्रियामा गइसकेको छ, अहिलेको अवस्था निरासाजनक अवस्था हुँदै होइन, हाम्रो सोच मात्रै निरासाजनक भएको हो”, उहाँले भन्नुभयो, “सरकारी कार्यालयका कारणमात्रै शहरको विकास होइन, शहरका कारण पनि सरकारी कार्यालयको उपस्थिति हुने गर्दछ, नेपालगञ्ज त्यस्तै शहरमा पर्दछ ।”

उहाँले नेपालगञ्ज विकास प्रक्रियामा प्रवेश गरे पनि केही विकास भएको छैन भनेर नकारात्मक टिप्पणी र आलोचना गर्नु गलत हुने उल्लेख गर्नुभयो । प्रदेश सरकारले विकासको लय समातेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले निरासावादी मनोवृत्तिले समाजलाई बदल्न नसकिने भएकाले यो नीति समाजमा नेतृत्व गर्ने नीति नभएको बताउनुभयो ।

प्रदेश नं ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने सवालमा अग्रणी रहेको उल्लेख गर्दै उहाँले कुल गार्हस्थ्य वृद्धि दरका हिसावले सबैभन्दा माथि रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश नं ५ को कुल गार्हस्थ्थ उत्पादनको वृद्धिदर सात दशमलव सात छ, यो उच्चतम वृद्धिदर हो, सबै मिलेर अघि बढ्यौँ भने हामी उदाहरणीय बन्न सक्छौँ ।”

उहाँले नेपालगञ्जमा काठमाडौँ पछिकै आधुनिक र भव्य संरचनासहितको बसपार्क सञ्चालनमा आएकामा खुशी व्यक्त गर्दै यसको संरक्षण र सम्वद्र्धनमा कमी हुन नदिन उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणालाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले आजै उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसको समेत औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । –रासस