
काठमाडौँ, १७ असोज । राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराको घटना अनुगमन गर्न उच्चस्तरीय टोली गठन गरेको छ ।
असोज १२ गते राति संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीको कोठामा उनीमाथि महराद्वारा बलात्कार भएको भनिएको घटनाको अनुगमन गर्न आयोगले आज तीन सदस्यीय अनुगमन टोली गठन गरेको हो ।
आयोगले घटना सम्बन्धमा शुरूदेखि नै सञ्चारमाध्यममा आएका सूचनाको अनुगमन गरिरहेको उल्लेख गर्दै विस्तृत अनुगमन गर्न टोली गठन गरेको प्रवक्ता वेद भट्टराईले जनाएका छन् ।
आयोगले जारी गरेको विज्ञप्तिमा घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले हालसम्म गरेका कामकारबाहीबारे जानकारी गराउन पत्राचार गरेको उल्लेख छ ।
त्यसैगरी, पीडित महिला र घटनाको समाचार पहिलोपटक सार्वजनिक गर्ने पत्रकारको सुरक्षाको विषयमा पनि आयोगले चासो देखाएको छ ।
संसद सचिवालयमा कार्यरत ती कर्मचारीले सुरुमा सभामुख महरामाथि बलात्कारको आरोप लगाए पनि घटनाको तेस्रो दिन बलात्कार नभएको बताएकी थिइन् ।
यही घटनापछि सभामुख महराले पदबाट राजीनामा दिइसकेका छन् ।












प्रतिक्रिया