
काठमाडौँ, १४ असोज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट असोज १४ गते एपीएफ टोलीले करीव ३ लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वाटर पर्साले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहट टोलीले असोज १४ गते करीव एक लाख ६७ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
रौतहट जिल्लाको गौरबाट चपुरतर्फ जाँदै गरेको ना ३ ख ९८२४ नम्बरको यात्रुवाहक बसमा लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बसपार्क ईलाकाबाट बरामद गरेको हो ।
सशस्त्र टोलीले बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाएको छ ।
यसैगरी पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ३ स्थित कुस्माबाट असोज १४ गते एपीएफ टोलीले एक लाख ४३ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोे सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।











प्रतिक्रिया