
काठमाडौँ, १४ असोज । नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । दिउँसो एक बजेदेखि साँझ ५ बजेसम्म चियापान गर्न लागिएको हो ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने पनि जानकारी दिए ।
नेपाली काँग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट सुरु गरेको चियापान कार्यक्रम दशैँको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ ।
यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले असोज २९ गते भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान आयोजना गर्ने निर्णय गरिसकेको छ ।











प्रतिक्रिया