
काठमाडौँ, १३ असोज । काठमाडौँको कपनमा ५५ वर्षीय कमला कार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्की छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई विभिन्न स्थानबाट शनिबार र आइतबार पक्राउ गरेको हो ।
असोज १ गते बिहान कपनको तेन्जिङ चोकनजिकैको खाजा पसलको भित्रपट्टी कार्कीको हत्या भएको थियो । आफ्नै कोठामा हात खुट्टा बाँधेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।
प्रहरीकाअनुसार बियरमा लठ्याउने औषधि मिसाएर खुवाइएको अनुसन्धानमा खुलेको जनाएको छ । सुन र पैसा लुट्नकै लागि हत्या योजना बनाएको देखिएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।
किराना पसलसँगै रक्सी पसल सञ्चालन गर्ने कमलासँग हत्या गर्ने व्यक्ति र उनीबीच पहिलेदेखि चिनजान रहेको अनुसन्धानमा खुलेको छ ।
नशालू पदार्थ सेवन गरेपछि कार्की लठ्ठिएको बेला उनको साथबाट चार वटा औंठी र ४५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । हातबाट औंठी झिक्न खोज्दा उनले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया