११ मंसिर २०८३, शुक्रबार

लमजुङ-मनाङ सडक अवरुद्ध, पहिरोमा स्करपियो जीप पुरियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असोज । लमजुङको मर्स्याङदी गाउँपालिका-४, स्याँगेमा अबिरल वर्षासँगैको पहिरोले मनाङ जाने सडक बन्द भएको छ । बेंसीसहर-चामे सडकअन्तर्गत स्याँगेको घुम्तीमा शनिबार बेलुका पहिरो गएको हो ।

पहिरोमा परी काठमाडौंबाट बेंसीसहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बर स्करपियो जीप पुरिएको छ । पहिरोले सवारी साधनमा क्षति पुर्‍याए पनि यात्रु भने भाग्न सफल भएका छन् ।

प्रहरीका अनुसार जीपमा चालकसहित ५ जना थिए । उनीहरु झ्यालबाट निस्किएर पहिरोबाट जोगिएको प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

सडक माथिबाट एक्कासि आएको ढुंगासहितको पहिरोले जीपको अगाडिको भागमा हानेपछि त्यसमा सवार सबै जनाको भागभाग भएको थियो ।

स्याँगेका दुईवटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

जसले गर्दा बेंसीसहरबाट मनाङ जाने र मनाङबाट बेंसीसर आउने सवारीसाधन रोकिएका छन् । डिभिजन सडक कार्यालय दमौलीसंगको समन्वयमा सडक खुलाउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

पहिरो हटाउन आइतबार बिहानै जेसिबी मेसिनसहितको टोली खटाइएको डिएसपी गुरुङले जानकारी दिए । ठूला-ठूला ढुंगासँगै माटो खसेका कारण पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।