११ मंसिर २०८३, शुक्रबार

यौन तथा प्रजननकाे विषयमा खुलेर बहस गर्ने वातावरण अझै छैन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, ११ मंसिर । हाम्रो समाजमा यौन तथा प्रजनन स्वास्थ्यको विषयमा खुलेर बहस गर्ने वातावरण अझै बनिसकेको छैन ।

यस्तो असहज परिस्थितिबीच रुपन्देहीको मर्चवार क्षेत्रका किशोर, किशोरीहरु भने विद्यालयमै सेनेटरी प्याड निर्माण गर्ने र यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा मञ्चमै सचेनतनामुलक नाटक प्रस्तुत गरेर चेतना फैलाईरहेका छन् ।

शारिरिक परिवर्तनसँगै किशोरीहरुमा आउने महिनावारीका कारण विद्यालय छोड्ने तथा विद्यालयमा नियमित उपस्थिति नहुने क्रम बढिरहेकोप्रति सचेतना जगाउंदै उनीहरुले हरेक विद्यालयमा छात्राहरुको लागि अनिवार्य सेनेटरी प्याड उपलब्ध गराउनु पर्ने माग समेत गरे ।

सिद्धार्थसामुदायिक समाज सिद्धार्थनगरको आयोजना, जनशक्ती किशोरी अधिकार मञ्च कोटहीमाईको नेतृत्व तथा कोटहीमाई गाउंपालका कार्यालयको समन्वयमा मर्चवारमा संचालन गरिएको किशोरी शसक्तिकरणका लागि यौन तथा प्रजनन् स्वास्थ्य मेलाको अवसरमा उनीहरुले किशोरीहरुको शिक्षा र स्वास्थ्यमा सबै सरोकारवालाहरुलाई गम्भिर हुन आग्रह समेत गरे ।

सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्ना भनाई राख्दै प्रदेश ५ प्रदेशसभा सदस्य अष्ठभुजा पाठकले हरेक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउनु पर्ने अनिवार्यतालाई आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए ।

यस्तै कोटहीमाई गाउंपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले आफ्नो गाउंपालिकालाई दाईजो रहित बनाउने दावी गरे । दाईजो लिने लिने काम समाजको कुरीति हो भन्दै अध्यक्ष यादवले यसलाई अभियानको रुपमा सफल पार्ने बताए ।

सो अवसरमा प्रदेश नम्बर ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद कुमार गिरी, कोटहीमाई गाउंपालिका वडा नम्बर १ का अध्यक्ष राजमन जैसवाल, २ का वडाअध्यक्ष मिथिलेश कुमार मिश्रा, वडा नम्बर ३ का अध्यक्ष चन्द्रभान अहिर, गैरसरकारी संघ रुपन्देहीका अध्यक्ष रिमा विसी लगायतले बोल्दै किशोरीहरुको स्वास्थ्य र शिक्षामा सहज पहुंचका लागि उनीहरुकै सहभागिता अनिवार्य रहेको बताए ।

विद्यालय विमुख किशोरीहरुलाई विद्यालयसम्म पुर्याउनु र विशेष गरेर यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा सबैलाई सचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष समिता मल्लले जानकारी दिईन् ।

कार्यक्रममा विभिन्न संघसंस्थाहरुले आआफ्ना प्रस्तुतीहरु प्रस्तुत गरेको सिद्धार्थ सामुदायिक समाजका कार्यक्रम संयोजक निर्मला सिंहले जानकारी दिईन् । कार्यक्रमको अध्यक्षता किशोरी मञ्चका अध्यक्ष तथा संचालन किशोरी प्रियंका र सुमनले गरेका थिए ।