११ मंसिर २०८३, शुक्रबार

बैंक ह्याक प्रकरण : कृषि विकास बैंकका कर्मचारीकै संलग्नता रहेको आशंका

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । कृषि विकास बैंकको डेढ करोड भन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग भएको खुलेको छ ।

कृषि विकास बैंक लहान शाखाका एक जना कर्मचारीको कम्प्युटरबाटै रकम अर्को खातामा पठाइएको भेटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

बैंक स्रोतका अनुसार सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्डमार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो । बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ । त्यस्तो पासवर्ड धेरै कर्मचारीले प्रयोग गरिरहेका हुन्छन् ।

‘बैंकमा पैसा नआउँदा पनि ती व्यक्तिहरूको खातामा पैसा जम्मा भयो । यसरी पासवर्डको दुरूपयोग गर्ने बैंककै कर्मचारी हुन् कि होइनन् भन्ने अनुसन्धान हुँदैछ,’ बैंक स्रोतले भन्यो।

उक्त पासवर्डबाट असोज ५ गते १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारिएको थियो । उक्त समूहले त्यसपछि देशका विभिन्न ठाउँबाट जम्मा गरिएको रकम निकालेको थियो ।

बैंकका प्रवक्ता हिमलाल पौडेलले यो प्रकरणमा बैंकको सिस्टम ह्याक नभएको बताए । ह्याकर समूहले पैसा जम्मा गरेका सात वटै खाता अहिले बन्द गरिएको उनले जानकारी दिए ।

यसरी स्विफ्ट ह्याक गरेर पठाइएको रकम १ करोड ५६ लाख रुपैयाँ बराबर भएको प्रारम्भिक जानकारी आएको भए पनि थप पुष्टि हुन बाँकी रहेको छ ।

यसैबीच बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट एघार जनालाई पक्राउ गरेको हो ।

ह्याकरले के कति रकम झिकेको भन्नेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन । नेपाल प्रहरीको साइबर सुरक्षा टोली र बैंकको विज्ञ टोलीले यसबारे अनुसन्धान गरिरहेको छ ।