काठमाडौं, ८ असाेज । छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ। यही बेला चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन्।
उदाउँदा दुई आर्थिक शक्तिबीच नेपाल रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल गर्नै पर्छ। चीनले आफ्नो शासन प्रणालीलाई अनुशासित र सबल प्रणालीका रूपमा चित्रण गर्दै आएको छ। उसले छिमेकमार्फत यसलाई प्रचार गर्ने नीति लिएको छ। छिमेक नीति स्पष्ट पारेर चीन आफ्नो प्रभावमा दत्तचित्त भएको विज्ञको टिप्पणी छ। यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्ने धारणा उनीहरू राख्छन्।
सत्तारुढ दल एकातिर ढल्किँदा नेपालको विदेश नीतिमा असामञ्जस्य आउने उनीहरूको तर्क छ। नेकपाभित्र चीनसँग नजिक हुने प्रतिस्पर्धा चलेको छ। राजनीतिकशास्त्रका प्राध्यापक श्रीधर खत्रीले यसलाई ‘बेमौसमी बाजा’को संज्ञा दिएका छन्। ‘यस प्रकारको प्रशिक्षण चाकडीको हद र अनावश्यक हो। हामी बहुदलीय लोकतान्त्रिक व्यवस्थामा छौं’, उनले मंगलबार अन्नपूर्णसँग भने, ‘सीको विचार एक मुलुक एक दल (एकदलीय व्यवस्था)मा केन्द्रित छ। विचारै मिल्दैन। अन्य अनुभव सुन्न मिल्ला तर अवधारणाको प्रशिक्षण फरक हो।’
सरकारसँग दुईतिहाइ समर्थन रहे पनि सिद्धान्ततः संविधानअनुरूप अघि बढ्नुपर्ने सुझाव उनले दिए। ‘नेकपा बहुदलीय व्यवस्थामा प्रतिबद्ध छ। उसको घोषणापत्रमा पनि त्यही छ’, उनले भने, ‘तर, ‘अहिले प्रशिक्षण एकदलीय संरचनाको हुँदा सिद्धान्त मेल खाँदैन।’ नेपालले बदलिँदो कूटनीतिक परिवेश र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर सावधानीपूर्वक कदम चाल्नुपर्ने उनले बताए। ‘भारत र चीनका राष्ट्र एवं सरकार प्रमुखको भ्रमण हुनु राम्रो नीति हो’, उनले भने। नेकपामा सी विचारप्रतिको आकर्षण बढ्दो देखिँदा त्यसतर्फ ढल्किएको हुन सक्ने आकलन उनको छ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङको व्यक्तित्वभन्दा पनि पथको प्रशंसा नेकपा अध्यक्षद्वयबाट हुनुलाई विज्ञले व्यंग्य गरेका छन्। पूर्वएमालेहरू जनताको बुदलीय जनवाद र पूर्वमाओवादीले जनवादी विचारधारा अँगीकार गरिरहँदा सीको विचार मिलनबिन्दुको रूपमा अघि बढेको हुन सक्ने विज्ञको आशंका छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया