
काठमाडौं, ७ असोज । नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारी भ्रमण बर्ष २०२० को अवसर पारेल नेपाल आउने भएका छन् ।
नेपालमा विकासका लागि लगानी र पर्यटन प्रबद्र्धनमा अमेरिकी सरकारको ध्यान बढाउने भण्डारीले बताएका छन् । जलविद्युत, पर्यटन, जडीबुटी उत्पादन, कृषिलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको भण्डारीले बताएका छन् ।
पर्वतको जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबीच भगिनी सम्बन्ध विस्तारका लागि त्यहाँ पुगेको यामबहादुर मल्ल (रामकृष्ण) नेतृत्वको टोलीसँगको अन्तरक्रियाका क्रममा नेपालले लिएको भ्रमण बर्षमा आफू आउने भण्डारीले बताएका हुन् ।
अमेरिका बसे पनि आफ्नो जन्म पर्वतमा भएकाले जन्मस्थलको पनि उति नै प्रेम रहेको भण्डारीले बताएका थिए ।
अमेरिकी तल्लो सदनका सांसद तथा राज्य सञ्चालन समितिका सदस्य भण्डारीले जलजला गाउँपालिकाका लागि पनि सहयोग गर्ने बताए ।
भ्रमण टोली सदस्य एवं सामाजिक विकास अनुसन्धानकर्ता राममणी थपलियाले नेपालमा साधान स्रोतको अभाव नेपाली अर्थतन्त्रको समस्या नभएको बताए ।
साधनस्रोत पर्याप्त भए पनि उचित व्यवस्थापन मुख्य समस्या रहेको थपलियाले बताए । एटलान्टामा भएको स्मार्ट सिटी एक्स्पोमा भाग लिन गएका जलजला गाउँपालिका अध्यक्ष मल्लले त्यहाँका मेयरसँगे विकास निर्माण र जलजलाको विकास निर्माणको अवस्थाको बारेमा परामर्श गरी भगिनी सम्बन्ध गाँस्ने तयारी भएको बताए ।
मल्लले सिटी अफ एटलान्टाका मेयर किसा लेन्स बतम्सलाई जलजला गाउँपालिकाको निमन्त्रणापत्र प्रदान गरेको जानकारी दिए । निमन्त्रणापत्र स्वीकार गर्दै मेयर बतम्सले छिट्टै नेपाल आएर जलजलाको भ्रमण गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘एटलान्टाका मेयरलाई नेपालको झण्डा उपहार प्रदान गर्दै जलजलाको भ्रमणका लागि आउन निमन्त्रणा दिएको छु । उहाँले छिट्टै नेपाल आएर गाउँपालिका घुम्ने प्रतिबद्धता जनाउनुभएको छ’, मल्लले भने ।











प्रतिक्रिया