
काठमाडौँ, ६ असोज । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि प्रस्ताव पेश गरेका ७ मध्ये एउटा कम्पनी मात्र योग्य देखिएको छ ।
लगानी बोर्डका अनुसार प्रस्ताव पेश गरेका ७ मध्ये जुरिच इन्टरनेशनल एयरपोर्ट एजीमात्र योग्य देखिएको हो । बाँकी ६ वटा कम्पनी अयोग्य ठहरिएका छन् । ६ वटा प्रस्तावकले मापदण्ड नपुर्याएको बोर्डले ठहर गरेको हो ।
बोर्डले निजगढ विमानस्थल निर्माणको लागि जुरिचसँग विस्तृत प्रतिवेदन माग समेत गरेको छ ।
लगानी बोर्डको बैठकपछि प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)को मात्र मापदण्ड पुगेको जानकारी दिए ।
जुरिच स्विटजरल्याण्डको कम्पनी हो । यसले अन्य देशमा एयरपोर्ट सन्चालन र व्यवस्थापनको काम पनि गर्छ ।
लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत तीन अर्ब अनुमान गरेको छ । सरकारले लगानी सम्मेलनमा निजगढ विमानस्थल निर्माणलाई सोकेसमा राखेको थियो । यसको निर्माणमा सात वटा कम्पनीले इच्छा देखाएका थिए ।
त्यस्तै, लगानी बोर्डले काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणका लागि चाइना कम्युनिकेसन कम्पनीसँग विस्तृत प्रतिवेदन माग गरेको छ । चार वटा प्रस्ताव परेकोमा तीन वटा प्रस्तावकले मापदण्ड पूरा नगरेको अधिकारीले बताए ।
लगानी बोर्डले तल्लो अरुण हाइड्रोपावर निर्माणका लागि तीन प्रस्तावकलाई नै विस्तृत रिपोर्ट माग्ने निर्णय गरेको छ ।
भारतको एसजेभिएन, चीनको चाइना पावर कम्पनी र जापानको जे पावर वाटरसँग विस्तृत रिपोर्ट माग्ने निर्णय भएको अधिकारीले जानकारी दिए । तल्लो अरुण ६ सय ७९ मेगावाट क्षमतामा निर्माण हुनेछ ।















प्रतिक्रिया