
काठमाडौँ, ६ असोज । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली नेपाल आइपुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणमा सोमबार नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोली र नेकपाबीच संयुक्त अन्तरक्रिया हुँदैछ । आजबाट सुरु हुने अन्तरक्रियामा सहभागी हुन सोङ्ताओ नेतृत्वको टोली नेपाल आएको हो ।
चिनियाँ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्कुल विभाग उपप्रमुख डा.बेदुराम भुषाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गरे ।
भ्रमणको क्रममा दुई कम्युनिस्ट पार्टीबीच कम्युनिस्ट अनुशासन, समाज रुपान्तरण र विकास तथा समृृद्धिका एजेण्डामा आज र भोलि काठमाडौँमा अन्तरक्रिया हुनेछ ।
आज साँझ ५ बजेबाट सुरु हुने कार्यक्रमको संयोजन नेकपाको स्कूल विभागले गरेको छ । कार्यक्रमका सहभागी पनि विभागले छनौट गरिसकेको छ ।
गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट विदेश विभाग, संगठन विभाग र स्कुल विभाग र विज्ञहरुले प्रशिक्षण दिनेछन् । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट करिव ४० जना सहभागी हुनेछन् ।
नेपालको तर्फबाट करिब दुई सय नेता सहभागी हुनेछन् । नेकपाको तर्फबाट सचिवालय, स्थायी कमिटीका सबै सदस्य र नेकपाका सबै मन्त्रीसहित केही केन्द्रीय कमिटी सदस्य र केही बुद्धिजीवीहरु कार्यक्रममा सहभागी हुने विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार एक समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।











प्रतिक्रिया