काठमाडौं, ६ असोज । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकटका व्यवसायीहरूले अलग–अलग प्यानल बनाएर प्रचार–प्रसार गरेका छन् ।
संघको असोज ७ गते मंगलबार काठमाडौंमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट अध्यक्षमा सरोजकुमार पोखरेलले नेतृत्वको समूह मैदानमा आएको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरे समूह मैदानमा आएको छ ।
निर्वाचनको दिन नजिकिएसँगै अहिले यी दुई समूहका व्यवसायीहरूबीच चुनावी प्रतिस्पर्धा शुरु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट प्रगतिशीलका तर्फबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेको पोखरेल समूहबाट संघको प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सञ्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बु (तेजु) मैदानमा छन् ।
सदस्यहरूमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिनेछन् ।
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिन लागेका विष्णुप्रसाद गैरे समूहबाट प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङले उम्मेदवारी दिने भएका छन् ।
अन्य सदस्यहरूमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर इजम र लक्ष्मण पौडेलले उम्मेदवारी दिने भएका छन् ।
निर्वाचनकालागि सहभागी हुन अहिलेसम्म ६५८ प्रतिनिधिले मात्र नाम दर्ता गराएका छन् ।
सरकारले पछिल्लो समय मेनपावर कम्पनीको धरौटी रकम अत्यधिक बढाए मर्जरको प्रक्रियामा गएसँगै बाँकी रहेका कुल ८५४ मेनपावर कम्पनीमध्ये अझै १९६ कम्पनीले आफ्ना मतदाता प्रतिनिधिको नाम नपठाएको निर्वाचन परिचालन समितिले जनाएको छ ।
अध्यक्षका प्रत्यासी उम्मेदवार पोखरेल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव तथा प्रगतिशील मञ्चका संस्थापक अध्यक्ष हुन भने उनका प्रत्यासी अध्यक्षका उम्मेदवार गैरे फोरमका अध्यक्ष हुन् ।
निर्वाचनबाट आगामी नयाँ नेतृत्व आफ्नो पक्षमा पार्नका लागि अहिले अध्यक्षका प्रत्यासी उम्मेदवार पोखलेल र गैरे दुवै समूहका व्यवसायीले अब वैदेशिक रोजगार व्यवसायलाई थप मर्यादित, व्यवस्थित बनाई सम्पूर्ण व्यवसायीको पेसागत हकहितको सुरक्षाका साथै कामदारको हकहितमा सरकारसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।











प्रतिक्रिया