११ कार्तिक २०८३, बुधबार

स्वाइनफ्लुबाट सचेत रहन मन्त्रालयको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Swastha Mantralayaकाठमाडौं, १३ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वाइनफ्लु (“इन्फ्लुइएन्जा ए” एच वन एन वन)बाट धेरै डराउन नपर्ने तर सचेत रहन आग्रह गरेको छ ।

जाडोको समय सकिने र गर्मीयाम सुरु हुने समयमा स्वाइनफ्लु देखापर्ने भन्दै मन्त्रालयले फ्लु नियन्त्रणका लागि आफू मातहतका निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले पत्रकारसँग कुरा गर्दे फ्लु फैलिन नदिन सचेत रहँदै पूर्वतयारीका सबै काम भएको जानकारी दिनुभयो । “यो मौसमी रुघाखोकी हो, धेरै डराइहाल्नु पर्दैन तर सचेत रहनुपर्छ” उहाँले भन्नुभयो ।

भारतमा स्वाइन फ्लुका कारण हालसम्म आठ सयको मृृत्यु भैसकेको छ भने करिब ११ हजारभन्दा बढीमा सो फ्लुले सङ्क्रमण गरिसकेको प्रमाणित भैसकेको छ ।

नेपालमा स्वाइन फ्लुका कारण एक जनाको पनि मृत्यु भएको छैन । तर पाँच जनामा स्वाइन फ्लु भएको पुष्टि भएको छ ।

विभागले काठमाडौं, पोखरा, विराटनगर, नेपालगन्ज, जनकपुरजस्ता १० सहर तथा बढी आवातजावत हुने अनि भीडभाड हुने स्थानहरूमा नमूना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको महानिर्देशक डा उप्रेतीले जानकारी दिनुभयो ।

साथै नेपाल भित्रिने भारतीय नाका, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निगरानीका लागि हेल्थ डेस्क राख्न प्रबन्ध मिलाउन लागिएको उहाँले उल्लेख गर्नु भयो ।

आफू मातहतका सबै अस्पतालहरूलाई छुट्टै बिरामी राख्ने कोठा (आइसोलेसन वार्ड) को तय गर्न विभागले निर्देशन दिइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बाबुराम मरासिनी स्वाइन फ्लुका लागि भनेर छुट्टै बजेट नभएको बताउनुभयो । उहाँले आन्तरिक बजेटबाट काम भैराखेको उल्लेख गर्नुभयो ।

उहाँले सामान्य रुघाखोकी र स्वाइन फ्लुको एउटै लक्षण देखिने हुन्छ, त्यसैले रुघाखोकी लाग्नासाथ परीक्षण गरिहाल्नुपर्ने बताउनुभयो ।