११ मंसिर २०८३, शुक्रबार

लोकतान्त्रिक संविधान सरकारका कारण खतरामा पर्‍याेः कांग्रेस नेता महर्जन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ४ असाेज । नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधि एवम् युवा नेता मीनकृष्ण महर्जनले नेपाली जनताको रगत पसिना बगाएर सयौँ जनताको बलिदानीले ल्याएको लोकतान्त्रिक व्यवस्था सरकारका कारण खतरामा परेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान अन्तर्गत शुक्रबार सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ ‘क’ लिसंखुपाखर सिलढुंगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले दुईतिहाइको बहुमतको दम्भको आडमा सरकारले संविधान विरोधी हर्कत गरेका कारण संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा परेको बताए ।

‘नेपाली कांग्रेसको नेतृत्वमा आएको संविधान उल्लंघन दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट नै उल्लंघन भएको छ’, उनले चेतावनी शैलीमा भने, ‘सभामुख र उपसभामुख एउटै दलको छ । संविधानले दिएका अधिकारहरूलाई कुल्चिएर संसदमा धमाधम विधेयकहरू ल्याइएको छ । यो सबै कम्युनिस्ट अधिनायकवाद ल्याउने चाल हो । कांग्रेसलाई सैह्य छैन ।’

नेपाली कांग्रेसका युवा नेता महर्जनले आवश्यक पर्‍यो भने कम्युनिस्ट सरकारविरुद्ध जनतालाई सडकमा उतारेर संविधान र लोकतन्त्रको रक्षाका लागि प्रतिकार गर्ने चेतावनी दिए ।

उनले जहाँ पनि कर लगाउने कार्यले गाउँका गरिव जनतामाथि अन्याय भएको बताए । उनले भने, ‘गरिव जनतालाई कर लगाएर कम्युनिस्टहरूले दुःख दिएको छ । सत्तामा बसेकाहरूका लागि सुविधा दिन सामान्य कुरामा पनि चर्को कर लगाइएको छ ।’

दुईतिहाइको बलियो कम्युनिस्ट सरकार चरम भ्रष्टाचारमा डुबेको भन्दै नेपाली कांग्रेसका युवा नेता महर्जनले भने, ‘यो सरकारले भ्रष्ट र अपराधमा संलग्नहरूलाई संरक्षण गरेको छ । वाइडबडी, एनसेल, बालुवाटार जस्ता काण्ड ढाकछोप गरेको छ ।’

अबको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ता एकजुट भएर कम्युनिस्टहरूलाई परास्त गर्नुपर्ने भन्दै महर्जनले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसका युवा नेता महर्जनले स्थानीय नेता तथा कार्यकर्ताहरूको भावनालाई जस्तोको त्यस्तै समेटेर आफूले केन्द्रमा प्रतिवेदन बुझाउने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको विकासमा ठूलो योगदान गरेको महर्जनले बताए ।

केन्द्रीय प्रतिनिधि एवम् नेपाली कांग्रेसका युवा नेता महर्जनले कांग्रेसका मोहनबहादुर बस्नेत प्रतिनिधि सभामा पराजित हुँदा यो क्षेत्रका जनताले कति दुःख पाएका छन् त्यो सबैलाई थाहा भएको बताए ।

‘मोहनबहादुर बस्नेतले जितेको भए यहाँको विकास गर्न सजिलो हुने थियो । नेकपाका अग्नि सापकोटाले जित्दा विकास हुनै छाड्यो’, उनले भने, ‘कांग्रेसको पालमा कति विकास भएको थियो । कम्युनिस्टले जित्दा कति विकास भयो त्यसको आफै थाहा पाउन सक्नु हुन्छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नेकपाका सांसदहरूले सिन्धुपाल्चोक जिल्लामा सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप लगाए ।

‘नेकपाका सांसदहरूले आफ्ना कार्यकर्ता पोस्न सांसद विकास कोषको रकम दुरुपयोग गरेका छन्’, उनले भने, ‘यस्ता हर्कत र कार्यको नेपाली कांग्रेसले विरोध गर्नेछ ।’

नेता बस्नेतले जिल्लाको विकासभन्दा पनि कार्यकर्ताको विकास चाहने नेकपाका सांसद र नेताहरूको भण्डाफोर गरिने बताएका छन् ।

देशमा अहिले शान्ति सुरक्षा बिग्रिएको पूर्वमन्त्री बस्नेतले बताए । ‘काठमाडौंको नयाँ बानेश्वरमा दिनदाहडै निर्माण व्यवसाय महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानी हत्या अभियोगमा पक्राउ परेका ६ जना मध्यमा ५ जना जेल जाने अनि त्यही अभियगमा पक्राउ परेका गृहमन्त्रीको भाई चाहिँ छुट्ने ? यो कस्तो कानून हो ?’, उनले भने, ‘अहिले न्यायलय, पुलिस, प्रशासन अख्तियार पूरै कम्युनिस्ट सरकारले आफ्नो कब्जामा लिएर नेपाली जनतालाई दुःख दिने गरेको छ ।’

नेता बस्नेतले कांग्रेसका केही स्थानीय नेताहरूमाथि आक्रोश पोखेको छन् । ‘पञ्चायती शासन, कम्युनिस्टसंग मैले लड्नु पर्ने । कांग्रेसको नेता हु भन्ने अनि चुनावको दिन भोट कम्युनिस्टलाई हाल्ने ?’, बस्नेतले भने, ‘कांग्रेसविरुद्ध लाग्नेहरूलाई पार्टीले छाड्दैन । कारबाही हुन्छ ।’

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ ‘ख’ मा खटिएका केन्द्रीय प्रतिनिधि रसुवा जिल्लाका पूर्व सभापति लामा कार्बु तामाङ, क्षेत्रीय अध्यक्ष बालकृष्ण बस्नेत, सुनकोसी गाउँपालिका अध्यक्ष विनोद जिसी, महासमिति सदस्य प्रेमध्वज लामा, हरिशरण केसी लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।