
काठमाडौं, १ असोज । चिनियाँ राष्ट्राध्यक्ष सी जिङ फिन दशैंताका काठमाडौं ओर्लने निश्चित भएको छ ।
परराष्ट्र मन्त्रालयले सीको भ्रमणको आन्तरिक तयारी तिव्र पारेको छ । नेपालमा सीले ९ देखि १२ घन्टा बिताउने बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणका क्रममा दिएको निम्तो स्वीकार्दै सी दशैंको समयमा काठमाडौं ओर्लन लागेका हुन् ।
सीको सुरक्षा तयारीका लागि गृह मन्त्रालयले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिइसकेको छ । भ्रमणको तालिका भने हालका लागि गोप्य राखिएको छ ।
‘नेपालमा शक्ति राष्ट्रका उच्च अधिकारीको भ्रमण भएकाले सुरक्षाका हिसाबले पनि तालिका तत्काल सार्वजनिक नगरिएको हो’, उच्च स्रोतले भन्यो,‘उहाँको भ्रमणचाहिँ निश्चित भएको छ ।’
सीको भ्रमणलगायतका विषयलाई परिणाम दिनका लागि आउने शनिबार चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ काठमाडौं आउँदैछन् ।
ताओले सीको भ्रमणका क्रममा हुन सक्ने सम्भावित सम्झौता र तयारीबारे अध्ययन गरेर फर्किनेछन् ।
यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए । ४८ घन्टाको नेपाल बसाईका क्रममा वाङले सीको भ्रमणबारे उच्चस्तरमा जानकारी गराउनुका साथै तयारीबारे बुझेर फर्किएका थिए ।
सीको सुरक्षा अवस्थाबारे बुझ्नका लागि कतिपय चिनियाँ सुरक्षाकर्मी हाल काठमाडौंमा नै रहेको उच्च स्रोतको दाबी छ ।











प्रतिक्रिया