
काठमाडौं, १ असोज । यातायात तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र केन्द्रीय सदस्य रामचन्द्र झाको पुरानो ‘इगो’ केन्द्रीय सचिवालयसम्म पुगेको छ ।
तत्कालिन एमालेमा हुँदा नै महासेठ र झाको लफडा परिरहने गरेको थियो । तत्कालिन एमाले छाड्दै नयाँ शक्ति नेपाल र नेकपा माओवादीसम्म पुगेका झा र महासेठको इगो पार्टी एकीकरणपछि पनि देखिएको छ । जसका कारण नेकपा प्रदेश २ मा अहिले लफडा भइरहेको छ ।
एक केन्द्रीय सदस्य भन्छन्,‘अलग अलग पार्टीमा हुँदा यस्तो समस्या थिएन । त्यसबेलाको एमालेको समस्या फेरि नेकपामा बल्झिएको छ ।’
१६ केन्द्रीय सदस्यले केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएपछि उक्त इगो सतहमा देखिएको हो ।
प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेललाई पनि कारबाहीको माग गरिएको छ ।
प्रदेश २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत १६ जनाले हस्ताक्षर गरेको ज्ञापन केन्द्रीय सचिवालयमा परेको हो ।
केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठालले कारबाहीको माग गरेका हुन् ।















प्रतिक्रिया