– यज्ञप्रसाद सापकोटा
बर्दिया, १२ फागुन । बर्दियाको भुरीगाउँमा रहेको भुरीगाउँ खानेपानी आयोजना निर्माण सम्पन्न भई समुदायलाई हस्तान्तरण गरिएको छ ।
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बर्दियाले भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई एक कार्यक्रम विच औपचारीक रुपमा हस्तान्तरण गरेको हो ।
आर्थिक बर्ष २०६३/६४ देखि निर्माण कार्य सुरु भएको भुरीगाउँ खानेपानी आयोजना २०६९/७०मा आयोजना सम्पन्न भएको थियो । हाल निर्माण सहित पानी सञ्चालन भईसकेपछि आयोजना समुदायमा हस्तान्तरण भएको हो ।
आयोजनामा हाल एक सय १२० ओटा धारा जडान भईसकेका छन् । जनसहभागीता सहित करिब ३ करोड २० लाखमा निर्माण भएको सो आयोजनाले नगरोन्मुख गाविस नेउलापुर, बगनाह लगाएतका गाविसलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

आयोजना हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा बर्दियाकी अध्यक्ष टिका सम्सेलीले खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजनालाई आफ्नो सम्पति सरह मानेर संरक्षण गर्नुपर्ने बताउनुभयो ।
आयोजना हस्तान्तरण गर्दै खानेपानी तथा सरसफाई सब डिभिजन प्रमुख अर्जुन बमले आयोजनालाई आफ्नै सम्पतिमानेर संरक्षण र सम्बद्र्धन गर्ने हो भने यो आयोजना नमुना बन्न सक्ने बताउनुभयो ।
आयोजना सम्पन्न भएपनि लोडसेडिङ्ग र कम भोल्टेजका कारण भुरीगाउँ लगाएत जिल्लाका अधिकांश खानेपानी आयोजना सञ्चालन हुन कठिनाई भएको छ । समयमा विद्युत नहुँदा उपभोक्ताहरु शुद्ध खानेपानीबाट वञ्चित छन् ।
















प्रतिक्रिया