२ कार्तिक २०८३, सोमबार

यस्तो छ १० वर्षीय बालकको ‘ड्रगिस्टबाट रिक्सा चालक’सम्म संघर्षको कथा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rickshaw (1)

– प्रदीप परियार
झापा, १२ फागुन । केही वर्षअघि बिर्तामोडको सडकपेटीमा नशासँग रमाउने शरणामति-४ का २२ वर्षीय सागर सुवेदी अहिले रिक्सा चालक बनेका छन् ।

माओवादीले गाविस भवनमा विष्फोट गराएपछि गाउँबाटै विस्थापित भएका सुवेदी १० वर्षमै सडकमा निस्किए । विस्थापित परिवार अहिले चारआलीमा बस्दै आएका छन् ।

शहीद दशरथ चन्द उच्च मावि चारआलीमा कक्षा ४ मा पढ्दापढ्दै सडक बालक बन्न पुगेका सागरले आफ्नो जीवनलाई पूर्णरुपमा परिवर्तन गरेका छन् । बिर्तामोडको पश्चिम बस स्टेण्ड र इलाम स्टेण्डमा उनको बास हुन्थ्यो । डेन्ड्राइट सुँघेर बिर्तामोडमा ३ वर्ष बिताएका उनी अहिले असल मान्छे बनेको सुनाएका छन् । त्यो बेला उनको उमेर १० वर्षको थियो ।

मिल्ने साथीले कोकाकोलामा डेन्ड्राइट मिसाएर खान कर गरेपछि घण्टौंसम्म लठ्ठिएर बसेको उनले बताए । दिनानुदिन साथीको संगतबाट नशादार बनेका उनी सडक बालकदेखि रिक्सा चालकसम्म बनेका छन् । हाल चारआलीमा बस्दै आएका उनी पुराना दिनलाई सम्झिएर भन्छन्-‘त्यस्तो दिन कसैको नआओस् । ‘गाउँमा बस्दा आमाले दिएको एक रुपैयाँले ढुंग्री र भुजाको गुलियो डल्ला बाहेक केही खाएको थिइनँ, चारआली बस्न थालेपछि साथीहरुले कोकाकोला र रमपममा नशा मिसाएर खुवाउँदा रहेछन् ।’

यसरी नै नशा लिँदै ३ वर्ष बिताएको सागरले सम्झिए । डेन्ड्राइट ड्रग्स सुुँघ्दै बिर्तामोडमा सयौं दिन भोकै बसेको स्मरण गर्दै भनेका छन्–‘म सही बाटोमा आइपुग्छु भन्ने थिएन ।’ ३ वर्षसम्म सडक बालक बनेका उनी एक्कासी दिल्ली हान्निए । कामको सिलसिलामा दिल्ली पुगेका उनी ५ तला घरमा पोचा लगाउँथे । ‘साथीसँग गएको थिएँ, साथीलाई जण्डिसले भेटेपछि हामी भागेर नेपाल आयौं ।’

सागरजस्ता हजारौं बालबालिका आज पनि सडकको पेटीमा जीवन बिताउन बाध्य छन् । राज्य बालबालिकाप्रति उदार काम गरेको महसुस गर्छ । तर बालबालिकाहरु भोको पेटमै अन्धकारको जीवन बिताइरहेका छन् ।

सागरजस्ता बालबालिका अझै सडकमै बस्न बाध्य छन् । उनले धेरै बालबालिका बुबाआमाको माया नपाएर र टुहुरो भएर सडकमा आउनु परेको बताए । तर, सागर बुबाआमा भएर पनि सडकमा आएका थिए । उनी अहिले पारिवारिक जीवनमा बाँधिएका छन् ।

‘नशाको तालमा धेरै साथीहरुले फट्याइँ पनि गरे, तर मलाई त्यो आँट कहिले आएन’, सागरले भने । बुबाआमा भएर पनि सागरले बाँच्नका लागि बुबाआमा नभएको नाटक गर्दै भिख मागेको सुनाए । ‘मैले चोरेर खानु हुँदैनथ्यो, मागेर खाएँ । आज दुई-चारसय दैनिक कमाउँछु ।’ सो समयमा काँकरभिट्टादेखि दमकसम्मका साथीहरुसँग मेरो संगत थियो । तर, उनीहरु अझै सडकमै छन् ।

सरकारले बालबालिकालाई हेरचाह नगरेकोमा उनले दुःख व्यक्त गरेका छन् । सागर भन्छन्–‘सरकार छ रे, खोई त सडकका बालबालिकालाई गलत बाटोबाट बचाएको ?’ सागरसँगै नशा खाँदै केही समय बिताएका एकजना पात्र कलाकार भएको सुनाए । ‘त्यो मसँगै डुल्थ्यो, अहिले ठूलो मान्छे भएको छ ।’ सडकमा रहेका बालबालिका सही बाटोमा लाग्छन् कि लाग्दैनन् भन्ने प्रश्नमा सागरले भनेका छन्–‘किन सक्दैनन् ? उनीहरु पनि हामीजस्तै मान्छे हुन् । तर उनीहरुलाई माया चाहिएको छ ।’

सागर अहिले रिक्सा चलाउन चारआलीबाट बिहान ४–५ बजे नै बिर्तामोड आइपुग्छन् । बेलुका ६ बजे घर पुग्ने गरेको बताए । ‘सिटी सफारी आउनुभन्दा अघि १ हजारसम्म कमाई हुने गरेको थियो, अहिले ह्वात्तै घटेर २-४ सय भन्दा बढी हुँदैन ।’

रिक्सा साहुलाई दैनिक ८० रुपैयाँ बुझाउँछन् । सागरले अनुरोध गरेका छन् – ती बालबालिकाहरुलाई बचाऔं । उनीसँगै नशा खाँदै हिँड्ने केहीले आत्महत्या गरेको बताए । आत्महत्या गर्नबाट रोकौं । बालबालिका सुधार केन्द्र चाहिएको उनले बताए ।