१२ मंसिर २०८३, शनिबार

एसपी राठौर : कामै काफी छ !

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । अघिल्लो हप्ता पर्सामा एक स्कुले बालिकामाथि एसीड प्रहार भयो । परिवारका सदस्यले प्रहरीमा जानकारी गराए । अभियुक्त केही घन्टाभित्र नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइयो । १६ बर्षिया सम्साद मियाँ यसका मुख्य अभियुक्त थिए, उनलाई पक्राउ गरियो ।

हत्या कसुरमा १० बर्ष जेल सजाय भोगरे निस्किएका तर आपराधिक गतिविधि सञ्चालन जारी राखेका सन्तोष दासलाई प्रहरीले वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट नियन्त्रणमा लियो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलिले राउण्ड गोली हानेर नियन्त्रणमा लिएको थियो । उनको साथबाट प्रहरीले एउटा टाइप ५४ पिस्तोल त्यसमा लाग्ने १७ राउण्ड गोली र १७० ग्राम ब्राउन सुगर (लागुऔषध) पनि बरामद गरेको थियो ।

दासले पछिल्लो समय भारतमा बस्दै सत्यराज योगीको भेषमा हिड्ने गरेको र आपराधिक काममा सक्रिय रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

पर्सा हुँदै भारत छिर्न लागेका दुई व्यक्तिलाई एक लाख ९० हजार रुपैंया बराबरको नक्कली नोटसहित पर्सा प्रहरीले पक्राउ गर्यो । उनीहरूको साथबाट ९५ वटा २ हजार दरका नक्कली नोट फेला परेको थियो । वीरगञ्ज महानगरपालिका–१० इदगाह चौकबाट पर्सा वैरियाका दिलिपकुमार साह र छप्कैयाका जमिल अख्तरलाई नियन्त्रणमा लिइएको हो ।

यी प्रतिनिधिमूलक घटना मात्र हुन् । जब, प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्रसिंह राठौर पर्सा जिल्ला प्रमुखको जिम्मेवारीमा पुगेका छन्, साना तिना अपराधका अनुसन्धानले परिणाम त पाएकै छन्, ठूला घटनाका अभियुक्तलगायत पनि पक्राउ भएकै छन् ।

भारतीय सीमासँग जोडिएको पर्सा जिल्लालाई सुरक्षाका हिसाबले चुनौतिपूर्ण पनि मानिन्छ । कानुन कार्यान्वयनका शिलशीलामा गरिने प्रहरीको कामका विरोधमा कोही राजनीतिक रंग त कोही क्षेत्रीयतावादी सोचका आधारमा सडकमा उत्रिन्छन् ।

तर, राठौर यी सबै विषयलाई गहन रुपमा विश्लेषण गरी अघि बढ्छन् । यो अहिलेको होइन, उनको पहिलादेखिकै काम गर्ने शैली नै हो । त्यसैले संगठनमा धेरैले उनको ‘नामै काफी छ’ भन्छन् । तर, व्यवाहारिक रूपमा हेर्दा नाम होइन, उनको ‘कामै काफी छ’ ।

राठौरको प्रहरी कर्मका केही उदाहरण र पृष्ठभूमी नै बलिया छन् ।

अपराध महाशाखामा हुँदा भएका आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ मात्र होइन, कारबाहीको दायरामा उभ्याउन राठौरको नेतृत्व बलियो थियो ।

धम्की दिने, बालक अपहरण गरी हत्या गर्ने समूह, बैंकिङ कसुर, ठगी गर्ने कयौंलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने नेतृत्व राठौरले गरेका थिए, कतै चुकेनन् ।

यस्ता कारबाहीमा उनले कसैको दबाब समेत सहेनन् । संगठन नेतृत्वको विश्वास, तल्लो दर्जाका प्रहरी कर्मचारीको सहयोग र दूरदर्शी अनुसन्धानात्मक सोच राठौरको प्रहरी कर्मको कुशल बाटो बनिरहेको छ । त्यसैले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका केही दिनमा नै उनको नेतृत्व सफलताको कसीतिर लम्किएको प्रस्टै छ ।

‘कुनै पनि प्रकारका अपराध गर्नेका लागि छुट, सहजीकरण वा उपल्लो तहको दबाबका आधारमा मुद्दा फितलो बनाउने, वास्ता नगर्ने भन्ने हुँदैन । त्यसका लागि प्रहरीको जागिर खाएको पनि होइन’, राठौर भन्छन्,‘प्रहरी इच्छा, आकांक्षा, अडान र काम गर्न सकिन्छ भन्ने मान्यताका आधारमा छिरेको हुँ, कुनै प्रकारको सम्झौता हुनेछैन ।’

जसरी लथालिङ र भताभुङ्ग भइसकेको संगठनको सुधारका निम्ति प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाल मिहेनतमा खटिए राठौर जस्ता प्रहरी अधिकृतको कामकारबाहीको प्रभावकारिता ठूलो सहयोगी बन्यो । प्रहरीले अहिले समातेको जनता नजिक हुने लयमा जिम्मेवार अधिकृतहरूको ठूलो योगदान पनि छ ।

राठौर कुशल प्रहरी अधिकृत बन्नुमा उनको पारिवारिक छहारीको पनि उत्तिकै प्रोत्साहन छ । नेपाल प्रहरीको जागिरे बुवाको नीति, व्यवाहारको प्रभाव उनमा रह्यो । त्यहि छायाँमा हुर्किएका कारण उनको क्रियाशीलता बलियो छ ।