काठमाडौं, २७ भदाै । प्रतिनिधिसभाका सदस्यले पछिल्ला बैठकमा उठाइरहेको डेंगुको महामारीसम्बन्धमा जानकारी गराउन सरकारलाई सभामुख कृष्णबहादुर महराले रुलिङ गरेका छन् ।
बिहीबारको बैठकमा पनि सांसदले डेंगुको विषयमा कुरा उठाएका थिए । राजधानी दैनिकले खबर छापेकाे छ ।
‘केही दिन यताको नियमित बैठकमा र विशेषगरी आजको बैठकमा डेंगुको महामारीसम्बन्धमा सदस्यबाट कुरा उठेको छ । यससम्बन्धमा सरकार र स्वास्थ्य मन्त्रीलाई विशेषगरी ध्यानाकर्षण गराउँछु । यस विषयमा सदनलाई यथाशीघ्र जानकारी गराउन निर्देशन गर्छु,’ सभामुखले भने ।
नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् । बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गौतमले मुलुक डेंगुले आतंकित र आक्रान्त भएकाले संकटकाल घोषणा गर्न समेत माग गरे ।
‘रुलिङ गरेर झारा टार्ने र कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानलाई चरितार्थ गरेर मात्र पुग्दैन’, उनले भने, ‘त्यसैले म जोडदार रूपले स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु । सरकार यसरी मुकदर्शक बनेर बस्न मिल्दैन । संकटकालको घोषणा गरेर अघि बढ्नुपर्छ ।’ डेंगु नियन्त्रणमा सरकार कुम्भकर्णको निद्रामा सुतेको उनले आरोप लगाए ।
‘यत्रो ठूलो विरोध र आक्रोश देख्दा पनि खालि रुलिङ गरेर मात्र पुग्दैन । स्वास्थ्यको जिम्मा लिएर बस्नुभएका मन्त्रीजी कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्री पनि स्वदेशमा आइसक्नुभयो । यतिबेला चुप लागेर बसेर, रुलिङ गरेर, टेबुल ठोकेर र सत्तापक्षका साथीले विरोध जनाएर मात्रै पुग्दैन,’ उनले प्रश्न गरे, ‘दुई तिहाइको सरकार हो यो । यतिबेला गर्न नसकेको, सुशासन दिन नसकेको कसले दिनसक्छ ?’















प्रतिक्रिया