२ कार्तिक २०८३, सोमबार

सहर एक ठग अनेक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thag-haru

काठमाडौं, १२ फागुन । प्रहरीमा पछिल्लो समय सबैभन्दा धेरै आउने उजुरी ठगीका हुन् । हनुमानढोकास्थित महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरमा दैनिक १० जनाभन्दा धेरै व्यक्ति आफू ठगिएको भन्दै उजुरी लिएर पुग्छन् । ठगीमा पर्नेहरूको आ–आफ्नो कथा हुन्छन् । कतिपय घटना फौजदारी किसिमको हुन्छ, त्यसलाई प्रहरीले अनुसन्धान गर्छ भने कतिपय प्रहरीले हेर्न नमिल्ने किसिमका ठगी हुन्छन्, त्यसमा पीडितलाई आफैं अदालत जान प्रहरीले सुझाव दिने गरेको छ । प्रहरीले अनुसन्धान गरी ठगी गर्नेलाई पक्राउ परेका पछिल्ला सात वटा ठगीका घटना यस्ता छन्–

१. नक्कली एसपीबाट नक्कली अधिकृत

राजकुमार चापागाई केही महिनाअघि मात्र जेलबाट छुटेका व्यक्ति हुन् । आफूलाई नेपाल प्रहरीको प्रहरी उपरिक्षक (एसपी) बताउँदै विभिन्न व्यक्तिलाई ठगी गरेको घटनामा उनी जेल परेका थिए । जेलबाट छुटेपछि उनले आफूलाई गृह मन्त्रालको प्रशासकीय अधिकृतका रुपमा पहिचान दिई ठगी धन्दा सुरु गरे । उनलाई शनिबार फेरि प्रहरीले पक्राउ गरेको छ । रामेछाप रस्नालुका राहुलमुखिया सुनारलाई लोकसेवा आयोगको नायव सुब्बाको परीक्षामा पास गराइदिन्छु भनी उनले ठगी गरेका थिए । लोक सेवामा आफ्नो चिनजानको मान्छे छ भन्दै एक लाख १० हजार रुपैयाँ ठगी गरेका थिए, चापागाइँले । विश्वासमा पार्नका लागि उनले सुनारलाई सिंहदरबारभित्रै भेट्न बोलाउँथे, पछि लोक सेवाको परीक्षामा फेल भएपछि युवकले प्रहरीमा उजुरी दिए । त्यस्तै टोखाका कमलबहादुर डंगोलबाट चापागाईले ११ लाख ४५ हजार रुपैयाँ ठगी गरेका छन् । सिभिल अस्पतालको क्यान्टिन सन्चालनको ठेक्का मिलाइदिन्छु भनी त्यसवापत उनले ११ लाख ४५ हजार रुपैयाँ हात पारिसकेका थिए । आफ्नो ठूला व्यक्तिहरूसँग चिनजान रहेको धाक देखाएर उनले पैसा लिएर ठग्ने गर्दथे । अरु धेरै व्यक्तिलाई उनले ठगेको हुनसक्ने भन्दै उजुरी गर्न महानगरीय अपराध महाशाखाले आग्रह गरेको छ । स्रोतका अनुसार जेलमा रहँदा पनि उनले ठगी गरेका थिए । डिल्लिबजार जेलमा विभिन्न बहानामा उनले ठगी गरेका छन् । जेलमा उनी भाईनाइके थिए ।

२. नक्कली हङकङ आईडीको करामत

केटी पट्याउन कति सजिलो रहेछ भन्ने कुरा झापाका वीरबल तामाङले देखाइदिएका छन् । उनी राम्रा र धनी बाबुका छोरीहरूलाई गर्लफ्रेन्ड बनाएर उनीहरूको पैसा धुत्न सफल भए । त्यसका लागि उनले हङकङ आईडीको सुत्र प्रयोग गरे । आफ्नो हङकङ आईडी भएको भन्दै युवतीहरूसँग प्रेससम्बन्ध गाँसे । बिहे गर्ने भन्दै युवतीको एटीएमसमेत आफैंले चलाए । विदेश जाने प्रक्रियाका लागि भनेर युवतीहरूसँग लाखौं रुपैयाँ लिए । त्यसरी ठगी गर्ने तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १० दिन अगाडि पक्राउ गरेको छ । कतिपय युवतीहरूलाई बिहे गर्ने भन्दै उनले यौन शोषणसमेत गरेका थिए । त्यसकारण उनीविरुद्ध ठगी र बलात्कार मुद्दा पनि प्रहरीले चलाउने भएको छ ।

३. डाक्टरलाई अहेवले ठग्दा

वीर अस्पतालका कर्मचारी दीपक मुडभरी पदले अहेव हुन् । तर अस्पतालका हरेक काममा उनको हस्तक्षेप हुन्छ । कर्मचारी भर्नादेखि खरिद प्रक्रियामा उनलाई खुशी नबनाई कसैले केही गर्न सक्दैन । उनै मुडभरी यतिबेला हनुमानढोका खोरमा छन् । उनले एक डाक्टरबाट ६० लाख रुपैयाँ ठगे । एमडी पढ्नका लागि भर्ना गरिदिने भन्दै उनले जनमैत्री अस्पतालमा काम गर्ने डा. मनोजकुमार साहलाई ६० लाख रुपैयाँ ठगी गरेका हुन् । त्यसका लागि उनले डा. साहलाई भर्ना गर्ने निर्णय भएको नक्कली माइन्युट र नियुक्ति पत्रसमेत बनाएका थिए । आफू ठगिएको थाहा पाएपछि पीडित डा. साहले उजुरी गरेर दुई साथीसहित मुडभरी प्रहरीको फन्दामा परे । अदालतले सामान्यतया ५० लाखभन्दा ठुलो ठगीमा पुपक्र्षका लागि थुनामा पठाउने गर्दछ । तर, आफूलाई सामान्य धरौटी मै छुट्नका लागि मुडभरी दौडधुपमा लागेका छन् । वीर अस्पतालमा कर्मचारी यूनियनका सचिवसमेत रहेका उनको कांग्रेसका नेताहरूसँग गाढा सम्बन्ध छ ।

४. नक्कली डीआईजीसावको करामद

आफ्नै साथीलाई सीआईबीको डीआईजी बनाएर पैसा दिन लगाएर ठगी गर्ने व्यक्ति पनि यतिबेला प्रहरी हिरासतमा छन् । सिन्धुपाल्चोकका सोनम तामाङ र रवि तामाङलाई सीआईबीले तीन साताअघि पक्राउ परेको हो । उनीहरूले भक्तपुरका कृष्ण गौतमलाई मुद्दा मिलाइदिने भन्दै त्यसका लागि पैसा दिनुपर्ने भन्दै कुरा गरेका थिए । त्यही क्रममा एक दिन दरबारमार्गमा आफ्नै एक साथीलाई सीआईबीको डीआईजी भन्दै चिनाएर नमस्कार गर्न लगाई २ लाख रुपैयाँ दिएका थिए । तर पैसा दिएपछि पनि आफूहरूको मुद्दा सीआईबीले अनुसन्धान नगरेपछि उनीहरू आफैं सीआईबीमा गएर सोधुपुछ गर्दा सीआईबीका डिआईजी भनिएका व्यक्ति त ठग पो रहेछन् भन्ने खुल्यो ।

५. कम्बोडियाको नाममा १० लाख स्वाहा

प्रहरीमा पर्ने उजुरीमध्ये धेरै जसो वैदेशिक रोजगारसँग सम्बन्धित हुन्छन् । यूरोप, अमेरिका जस्ता आकर्षक देशमा पठाइदिने भन्दै लाखौं ठगी हुने गरेका छन् । यूरोप अमेरिका मात्र होइन पछिल्लो समय अफ्रिकालगायत अविकसित देशमा पठाउने भन्दै ठगी गर्ने प्रवृत्ति पनि देखिएको छ । सुनसरी इटहरीका लोकेन्द्र कार्कीले पनि कम्बोडिया जाने सपनामा १० लाख गुमाए । उनलाई ठगी गर्ने धादिङका प्रेमप्रसाद ढकाललाई अपराध महाशाखाले गत फागुन ६ गते पक्राउ गरेको छ । वैदेशिक रोजगारसम्बन्धी ठगीमा हरेक साता ५/७ जना व्यक्ति पक्राउ पर्ने गरेका छन् ।

६. लाखौंको चकलेटमा नक्कली चेक

गत साता चकलेटका नाममा राजधानीका अर्काे ठगी भयो । भारतको राजस्थान घर भएका रोनक ब्रोथालाई नाटकीय रुपमा तीन युवाहरूले १७ लाख रुपैयाँ ठगी गरे । विभिन्न ब्रान्डका चकलेट आयात गर्दै आएका ब्रोथासँग १७ लाखको चकलेट किनेर अर्काको चेक दिई तीन युवाले ठगी गरेका हुन् । ठगी गर्ने गुल्मीका विष्णु ज्ञवाली, काभ्रेका रोशन बानियाँ र दोलखाका प्रेम खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरूले स्नीकर, मार्स, क्वी, टेटिक्स लगायत ब्रान्डका चकलेटहरू लिएर अर्काको चेक दिई झुक्याएर भागेका थिए । चेक साट्न जाँदा खातामा पैसा थिएन । विजयराज सिंहको नामको चेक उनीहरूले दिएका थिए । यस घटनामा प्रहरीले चकलेट पनि बरामद गरी तीनै जना युवालाई पक्राउ गरेको छ ।

७. चिठ्ठाका लोभ

चिठ्ठाको नाममा ठगीका घटना पनि निकै बढेका छन् । त्यही क्रममा एक ट्याक्सी चालक गत महिना ठगिए । २५ लाखको चिठ्ठा परेको भन्दै उनलाई दुई महिनाअघि फोन आयो । उक्त पैसा पठाउनका लागि १ लाख १५ लाख रुपैयाँ खर्च लाग्ने भन्दै उक्त पैसा मागियो । सुरुमा विश्वासमा परी उनले पैसा पनि जम्मा गरिदिए । पछि पैसा जम्मा गरेको भौचर च्यात्न र कसैलाई पनि नभन्न लगाएपछि उनलाई शंका लाग्यो र प्रहरीमा पुगे । अनुसन्धान गर्दा उनी एक पाकिस्तानी गिरोहेका फन्दामा परेको तथ्य खुल्यो । पाकिस्तानी नागरिक अली सेर मोहम्मत इसाक खानलाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरूले तेजप्रसाद उप्रेतीको खातामा पैसा जम्मा गर्न लगाएका थिए । उप्रेतीलाई पनि अपराध महाशाखाले पक्राउ गरेको छ । – दृष्टिबाट