५ कार्तिक २०८३, बिहिबार

रुपन्देहीको गैडहवा गाउँपालिकामा टेलिकमको द्रुत गतिको इन्टरनेट सेवा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको छ । सोमबार रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा यो सेवाको शुभारम्भ गरिएको हो ।

पूर्वमन्त्री तथा संसदको सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटीटीएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सेवाको विधिवत् शुभारम्भ गरे ।

कार्यक्रममा शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिदै ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकोले सबै समुदायलाई त्यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन आग्रह गरे ।

नेपाल टेलिकम भैरहवा क्षेत्रीय निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले नेपाल टेलिकमले अंगिकार गर्नुपर्ने विभिन्न झञ्झटिला कानुनी प्रावधान र यसका कारण भोग्नु परेका समस्या बारेमा उल्लेख गर्दै कम्पनी सदैव ग्राहक सेवामा केन्द्रित रहेको बताए ।

सम्भवतः नेपालमै पहिलो पटक गाउँपालिका स्तरमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने सुअवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै निर्देशक मालाकारले आगामी दिनमा अन्य गाउँपालिकाहरुमा पनि क्रमशः सेवा विस्तार गर्दै लगिने जानकारी दिए ।

कार्यक्रममा त्यस भेगका उद्यमी, व्यवसायी, संघ संस्थाका प्रमुख, गाउँपलिकाका पदाधिकारी लगायत सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । गाउँमा सञ्चार सेवाहरु उपलब्ध नहुँदा र हुँदाका अवस्थाका बारेमा तुलनात्मक व्याख्या गर्दै समग्र गाउँपालिकाको तर्फबाट गैडहवा गाउँपालिकाका प्रमुख बच्चुलाल केवटले आफ्ना भनाइहरु राखेका थिए ।

कार्यक्रममा एफटीटीएच खरिद गर्ने ग्राहकहरुलाई राउटर (सीपीई) हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा त्यस भेगका जनतालाई निःशुल्क प्रिपेड सिम समेत वितरण गरिएको थियो ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी र अत्याधुनिक रहेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।