६ कार्तिक २०८३, शुक्रबार

प्रमुख-उपप्रमुख घम्साघम्सी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदाै । सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख-उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन्। बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटगत स्वार्थ लगायतका कारण विवाद चुलिएको हो। जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध पुगेको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन्।

मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख र उपप्रमुखको विवाद अदालतमा पुग्दा नगरपालिका ठप्प छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिम र उपाध्यक्ष उर्मिला राईबीचको द्वन्द्व सतहमा देखिएको छ।

इलाम नगरपालिका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्बाङबीच २ वर्षदेखिको विवाद सामसुम भए पनि कार्यसम्पादन राम्ररी हुन सकेको छैन। न्यायिक समितिको संयोजक भएर कुर्सीमा बसेको दुई वर्षसम्म आफू नै मेयरबाट अन्यायमा परेको भन्दै उपमेयर नेम्बाङले गुनासो पोखिन्।

गत असार २८ गते भएको नगरसभामा उर्लाबारीका मेयर खड्ग फागोले एकलौटी गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षधरले मुद्दा हालेपछि विवाद चुलियो। अदालतले नगरसभाको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दियो। यसपछि नगर तथा वडा कार्यालयका सबै आर्थिक काम रोकिएका छन्।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष माखिम र उपाध्यक्ष राईबीच ६ महिनाअघिको गाउँपालिकाको बैठकमा तीव्र विवाद भयो। ‘अध्यक्ष-उपाध्यक्ष द्वन्द्वले हामीलाई कामै गर्न अप्ठ्यारो परेको छ,’ एक कर्मचारीले भने, ‘जनप्रतिनिधिको स्वार्थले गर्दा काम प्रभावित हुने गरेको छ।’ पाँचथरको फालेलुङ, कुम्मायक, याङवरक र तुम्बेवा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच द्वन्द्व छ। ‘अध्यक्ष र उपाध्यक्षबीच कुनै न कुनै विषयमा द्वन्द्व छ,’ याङवरकका एक कर्मचारीले भने, ‘एउटै दलबाट जिते पनि दलभित्रको गुटगत स्वार्थका कारण विवाद हुने गरेको छ।’