२ कार्तिक २०८३, सोमबार

रासस र गोरखापत्रबाट ३२ जना पत्रकार हटाइए, तत्काल पुनर्बहाली गर्न क्रान्तिकारीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krantikari-Patrakar-Sangh

काठमाडौँ, १२ फागुन । क्रान्तिकारी पत्रकार संघले सरकारी स्वामित्वका गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस) बाट हटाइएका आफूसमर्थित ३२ जनालाई पत्रकारलाई तत्काल पुनर्बहाली नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

क्रान्तिकारी पत्रकार संघ, केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले आस्थाकै आधारमा राससबाट १७ जना तथा गोरखापत्रबाट १५ जना पत्रकारलाई हटाइएको भन्दै तत्काल पुनर्बहालीको माग गरेका हो । अन्यथा हड्ताल लगायतका आन्दोलनमा उत्रन बाध्य हुने संघको चेतावनी छ ।

यसैगरी, सहमतिमै संविधान लेखनका लागि दबाब दिनका लागि क्रान्तिकारी पत्रकार संघले विभिन्न दबाबमुलक कार्यक्रम सार्वजनिक गरेको छ ।

संघको बैठकपछि संघका संयोजक गोविन्द आचार्यबाट जारी विज्ञप्ति जस्ताको तस्तै:

क्रान्तिकारी पत्रकार संघको प्रेस विज्ञप्ति

आज मिति २०७१ फागुन ११ गते क्रान्तिकारी पत्रकार संघ, केन्द्रीय कार्यालयको बैठक वसी लिइएका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । वैठकका निर्णयहरु यसप्रकार छन् ।

१.) संविधान निर्माण जस्तो महत्वपूर्ण कार्यमा अहिले १२ बुँदे सहमति र शान्ति प्रक्रियाका सहयात्री दलहरुबीच भइरहेको अनावश्यक ध्रुविकरण र कित्तावन्दी एवम् निषेधको राजनीतिले देशलाई आन्तरिक द्वन्द्वको भुमरीमा फसाउने निश्चित छ । हामी जनआन्दोलनका सहयात्री दलहरुलाई अन्तरिम संविधान तथा यसअघि भएका सहमति र सम्झौताको भावना र मर्म बमोजिम सहमतिमै संविधान निर्माणको प्रक्रिया अघि बढाउन आग्रह गर्दछौं ।

२.) आगामी संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्न माग गर्दछौं । साथै प्रेस स्वतन्त्रताको विषयलाई संविधानको अपरिवर्तनीय धारामा राख्न तथा यसलाई कुनैपनि वहानामा रोकटोक लगाउने एवम् संकटकालमा निलम्वन गर्न सक्ने प्रावधानहरु नराख्न आग्रह गर्दछौं ।

३.) नेपाल सरकारको सूचना तथा संचार मन्त्रालयले हालै छलफलका लागि सार्वजनिक गरेको आमसंचार नीति २०७१ को मस्यौदाका विभिन्न बुँदाहरु लोकतन्त्र विरोधी, प्रेस स्वतन्त्रता विरोधी, नियन्त्रणमुखी एवम् आम संचार माध्यम र श्रमजीवी पत्रकारको हित विरोधी रहेकाले यसलाई यथास्थितिमा जारी नगर्न जोडदार माग गर्दछौं । सरोकारवाला संघ, संस्था र निकायको प्रत्यक्ष संलग्नतामा आम संचार नीति र संचार सम्वन्धी कानूनको मस्यौदा गर्न आग्रह गर्दछौं ।

४.) सरकारी संचार माध्यम खासगरी गोरखापत्र र राष्ट्रिय समाचार समितिमा वर्षौदेखि कार्यरत श्रमजीवी पत्रकारहरुलाई सरकारका संचारमन्त्रीको प्रत्यक्ष निर्देशनमा आस्थाकै आधारमा हटाइएको प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । आस्थाकै आधारमा राससवाट निकालिएका हाम्रो संगठनका सदस्यहरु अमरजीत पुन (रोल्पा), अन्जली थापा (मकवानपुर), रामवहादुर थापा (वाग्लुङ), राजेन्द्र न्यौपाने (गोरखा), फणिन्द्र फूयल (काठमाडौं), रोशन तामाङ (काभ्रे), रामप्रसाद तिमिल्सिना (कास्की), नवीन रिजाल (दैलेख), मेनका चौधरी (वर्दिया), शुरवहादुर शिंह (जुम्ला)सहित १७ जना तथा गोरखापत्रवाट निकालिएका श्री श्रीषा राई (सुनसरी), अर्जुन जम्लेली राई (मोरङ), डिल्ली मल्ल (दाङ), डिएन चाम्लिङ (खोटाङ), शिवशंकर मिश्र (वारा) मानवहादुर सावद, गीता अधिकारी, विष्णु देवकोटासहित १५ जनालाई तत्काल पुर्नवहाली गर्न माग गर्दछौं । अन्यथा यसका विरुद्ध श्रमजीवी पत्रकार ऐन र श्रम ऐनले दिएको अधिकार प्रयोग गर्दै रासस र गोरखापत्र संस्थानमा हडतालसहितका आन्दोलनमा उत्रन बाध्य हुने जानकारी गराउदछौं ।

५.) सहमतिमा संविधान निर्माण, संविधानमा प्रेस स्वतन्त्रता ग्यारेण्टी, सरोकारवालाको सहभागितामा आमसंचार नीति निर्माण, सरकारी संचर माध्यमवाट निष्काशित पत्रकारको पुर्नवहाली, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि दवाव दिन यही फागुन १४ गते विहान ७.३० वजे काठमाडौंको सुन्धारावाट पत्रकारहरुको जुलुशसहितको प्रभातफेरी कार्यक्रम राखिएकाले सहभागिताका लागि सम्वन्धित सबैमा आग्रह गर्दछौं ।

६.) सहमतिमा संविधान निर्माणका पक्षमा दवाव सिर्जना गर्न जिल्लाहरुमा विविध कार्यक्रम गर्ने निर्णय गरिएको छ । काठमाडौंमा फागुन १४ गते दिउसो १२ वजे कोटेश्वरको पेरिसडाँडास्थित एमाओवादी केन्द्रीय कार्यालयमा संविधानसभाको संवाद तथा राजनीतिक सहमति समिति अध्यक्ष समेत रहनुभएका एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईसहितका नेताहरुसँग विशेष साक्षात्कार कार्यक्रम राखिएकाले सहभागिताका लागि संचारकर्मी मित्रसहित सम्वन्धित सबैमा आग्रह गर्दछौं । क्रान्तिकारी अभिवादन सहित ।

मिति २०७१ फागुन ११ गते
गोविन्द आचार्य
संयोजक