घोराही, १९ भदौ । बर्दी लगाएर शान्ति सुरक्षा कायम गर्न डिउटीमा खटिएका प्रहरीलाई हुत्यायर हातपातसहित दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दाङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
राप्ती स्वास्थ्य प्रतिष्ठान बचाउ समितिको नाममा तालाबन्दीको कार्यक्रममा डिउटीमा रहेका प्रहरीलाई हुत्यायर हातपातसहित दुर्व्यवहार गरेपछि प्रहरीले लिखित रुपमा प्रतिवेदन तयार गरेर घोराही भरतपुरका विवेक श्रेष्ठ र लक्ष्मीपुरका नवीन नेपाली ‘अभिलाषी’माथि मुद्धा दर्ता यसअघि नै गरिसकेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले प्रहरीले आफै नै किटानी जाहेरीसहित नेकपाका नेता श्रेष्ठ र नेपालीविरुद्ध मुद्धा दर्ता गरेको जानकारी दिए ।
उनीहरूलाई पक्राउका लागि वारेन्ट जारी भइसकेको गौतमले बताएका छन् ।
श्रेष्ठ र नेपालीलाई पक्राउ गर्नका लागि प्रहरीको टोली परिचालन गरिएको उनले जानकारी दिएका छन् ।
नेकपाका स्थानीय जिल्ला नेता श्रेष्ठ र नेपालीसहितका युवाहरूले बर्दीमा डिउटीमा खटिएका प्रहरीलाई हुत्याउने कार्य गरेका थिए ।
प्रहरी आफूले डिउटीमा रहेका प्रहरीलाई हुत्याउने र हातपात गर्नेहरूविरुद्ध प्रतिवेदन बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक गौतमले प्रहरीले जसरी पनि श्रेष्ठ र नेपालीलाई पक्राउ गरेर छाड्ने जनाएका छन् ।
उनले भने, ‘कानून विपरीत काम गर्नेलाई पक्राउ गर्दैन कि भनेर भ्रममा नपर्न सबैलाई मेरो आग्रह छ ।’
जिल्ला प्रहरी कार्यालय दाङबाट सरुवा भएर सोमबार धनुषातीर लागेका एसपी बेलबहादुर पाण्डेले आफू रवाना हुने बेला नेकपाका स्थानीय नेताद्वय श्रेष्ठ र नेपालीविरुद्ध प्रहरीले प्रतिवेदनसहित हातपात र हुत्याउने कार्य गरेको निष्कर्षसहितको मुद्धा दर्ता गराएका थिए ।












प्रतिक्रिया