१ कार्तिक २०८३, आइतबार

भातृसंगठन चिरा पर्न थाले

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नवौं महाधिवेशनमा मतपत्रमै प्यानल बनाएर चुनाव लडेको एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षबीचको विवादका कारण पार्टीको भ्रातृ संगठनभित्र भाँडभैलो देखिएको छ।

गुटगत विवादकै कारण महाधिवेशन भएको आठ महिना बित्दा पनि अध्यक्ष ओलीले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन गर्न नसकिरहेका बेला भ्रातृ संगठनहरूमा समेत चिरा पर्न थालेको हो।

शान्तिप्रक्रिया सुरु भएपछि एमालेभित्रको सबैभन्दा प्रभावशाली भ्रातृ संगठनका रूपमा स्थापित युवासंघ नेपालको सोमबार राजधानीका दुई स्थानमा अलग अलग केन्द्रीय कमिटी बैठक भयो।

ओली पक्षधरको बैठक उद्घाटन एमाले उपाध्यक्ष विद्या भण्डारीले गरिन् भने नेपाल समर्थित पक्षको बैठक पार्टी सचिव योगेश भट्टराईले उद्घाटन गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । दुवै पक्षको बैठकमा केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक भएको ब्यानर टाँगिएको थियो।

एमाओवादीको युवा संगठन युथ कम्युनिस्ट लिग (वाईसीएल)को सामना गर्न एमाले युवा संघले महेश बस्नेतको संयोजकत्वमा ‘युथ फोर्स’ गठन गरेपछि सो संगठन पार्टीभित्र सबैभन्दा प्रभावशाली बनेको थियो।

२०७० मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेलाई पुनर्जीवन दिन पनि सो संगठनको महत्त्वपूर्ण भूमिका रहेको थियो।

ओली पक्षधरको बैठक अल्फाबिटा कम्प्लेक्समा बस्यो। एमाले नवौं महाधिवेशनमा ओली पक्षले सोही कम्प्लेक्सबाट कार्यक्रम सञ्चालन गरेका थिए। नेपाल पक्षधरको बैठक होटेल अर्याल मै बस्यो।

पार्टीको नवौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार भएका नेपालले यही होटेललाई सम्पर्क कार्यालय बनाएका थिए। संस्थापन (ओली) पक्षको बैठकमा उनका स्वकीय सचिव रमेश आचार्य तथा नेपाल पक्षको बैठकमा उनका स्वकीय सचिवद्वय मोहन गौतम र नितेश पौडेल पनि सहभागी थिए।

संस्थापन पक्षको बैठकमा एमाले उपाध्यक्ष भण्डारी, स्थायी कमिटी सदस्य शंकर पोखरेल, युवा संघका निवर्तमान अध्यक्ष महेश बस्नेतलगायतले सम्बोधन गरे।

नेपाल पक्षको बैठकमा सचिव भट्टराई, पार्टी पोलिटब्युरो सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य रामकुमारी झाँक्री र रचना खड्कालगायतले सम्बोधन गरे।

संस्थापन पक्षको अध्यक्षता निरु पालले र नेपाल पक्षको समानान्तर बैठकको अध्यक्षता संघकी उपाध्यक्ष दिलु पन्तले गरेकी थिइन्।

दुवै समूहले आफूसँग बहुमत भएको दाबी गरेको छ। संस्थापन पक्षले बैठकमा एक २५ जना केन्द्रीय सदस्य उपस्थित भएको र थप १० जनाले आउन नभ्याउने जानकारी गराएको महासचिव राजीव पहारीले बताए।

‘कमिटीभित्रका विवाद बाहिर भन्नुको साटो संगठनभित्रै भन्नुपर्छ, अराजनीतिक गतिविधि गर्न हुँदैन’, उनले भने, ‘उहाँहरूको शैलीले संगठन चल्दैन। संगठनमा केही कमजोरी छन् भने सच्याउन सकिन्छ।’

नेपाल पक्षधर समूहको नेतृत्व गरिरहेका सचिव नरेश शाहीले एक सय ८० सदस्यीय संघको कमिटीका ७० जना केन्द्रीय सदस्य आफ्नो पक्षको बैठकमा सहभागी भएको जानकारी दिँदै भने, ‘बहुमत पनि विधान सम्मत हुनुपर्छ।  बहुमत विधान मिच्नका लागि हैन।’

उनले संघको पदाधिकारीले विधानविपरीत मनोनयन गरेकाले आफूहरूले बेग्लै केन्द्रीय कमिटी बैठक डाकेको बताए।
एमालेको अर्को प्रभावशाली भ्रातृसंगठन अनेरास्ववियुमा पनि दुई प्यानल देखिएको छ।

अखिल अध्यक्ष किशोरविक्रम मल्लविरुद्ध संगठनकै पदाधिकारीहरूले पार्टी अनुशासन आयोग र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र दिइसकेको सचिव भक्तकुमारी लामाले बताइन्। ‘अखिलको अध्यक्षले म्यानपावर कम्पनीले गर्ने काम गरेका छन्।  हामी त्यसविरुद्ध छौु’, उनले भनिन्।

नेपाल पक्षले आफ्नो पक्षको कुरा सम्बोधन नभए युवा संघमा जस्तै विद्यार्थी संगठनमा पनि हुनसक्ने चेतावनी दिएको छ।

अनेरास्ववियुले दुई स्कुले छात्रामाथि आइतबार भएको तेजाब आक्रमणरिुद्ध गरेको प्रदर्शनमा भने दुवै पक्षको सहभागिता भए पनि ओली पक्षकी नवीना लामालाई बोल्ने अवसर दिइएन।

लामाको टोलीले दुवै घाइते छात्रालाई अस्पतालमा भेटेर उपचारका लागि पाँचरपाँच हजार रूपैयाँ दिएको थियो। ‘कार्यविभाजन नगरेकाले पार्टी संगठन चलेको छैन।  अध्यक्षको बोलीलाई सञ्चारमाध्यमले स्थान दिएको मात्र हो’, एमाले केन्द्रीय सदस्य झाँक्रीले भनिन्, ‘अब जनवर्गीय संगठनहरू पनि संस्थापनले समस्याग्रस्त बनाएको छ।’

झाँक्रीले संगठनको संरचना कब्जा गरेर निरंकुशता लाद्न खोजे विद्रोह हुनु स्वाभाविक बताइन्।