६ कार्तिक २०८३, शुक्रबार

प्रहरीका लागि चितवन जिल्ला पहिलेदेखि चुनौति मानिन्थ्यो : पूर्वआइजी खरेल

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपाल प्रहरीमा भर्ती भएपछि पहिलो इञ्चार्ज नै चितवनमा लिएका पूर्व प्रहरी महानिरिक्षक (आइजी) अच्युतकृष्ण खरेलले चितवन जिल्ला पहिलेदेखि नै चुनौति मानिने स्मरण गरेका छन् ।

प्रहरी निरिक्षकले जिल्लाको नेतृत्व गर्नेबेला चितवन पुगेका खरेल दैनिक नेपालसँग भन्छन्,‘त्यसैबेला ७६ जिल्लाका मानिस बसेको ठाउँ भनिन्थ्यो । राजनीतिक आगो चाँडो सल्किन्छ पनि भनिन्थ्यो । चुनौति पनि थियो । तर मैले केही थितिचाहिँ बसालेको स्मरण गर्ने पनि छन् ।’

हुन त नेपाल प्रहरीको संगठनमा नै राजनीतिक हस्तक्षेपको तिव्र विरोध गरी कानुनी लडाई समेत जितेका, संगठनमा थिति बसाल्ने नेतृत्वका रुपमा परिचित खरेल भन्छन्,‘राजनीतिक विषय होस् वा जुनसुकै विषय, अलिकता केही भयो कि आगो बल्थ्यो ।’

पञ्चायतकालमा राजनीतिक दलका गतिविधि प्रभावकारी हिसाबले चितवनमा चलेका बेला खरेल ०२९÷३० सालमा त्यहाँ पुगेका थिए ।

‘राजनीतिकसँगै चोरी र डकैती पनि ज्यादा थियो । यी सबै प्रकरण चुनौतिका रुपमा उभिएको थियो । कुशलतापूर्वक काम गरियो’, उनी स्मरण गर्छन्,‘खरेल आएपछि चितवनमा सास फेर्न पाइयो, चोरीबाट मुक्ति पाइयो  भन्नेहरू पनि भेटिए ।’

उनको कामको सक्रियताका कारण नै नेपाल प्रहरीको प्रमुखका हैसितमा पुगेका खरेलले संगठनमा राजनीतिक हस्तक्षेप हुने गरेको स्वीकार गरे । तर, उनको कार्यकालमा ९९ प्रतिशत त्यस्ता हस्तक्षेपलाई स्वीकार नगरी संगठनलाई अघि बढाए ।

उनी भन्छन्,‘गृहमन्त्रालयबाट संगठनमा हस्तक्षेप होइन, प्रहरीका लागि नीति बनाइदिने र त्यसको परिणाम खोजिनुपर्छ । बाँकी संगठन प्रहरी नेतृत्वले चलाउनुपर्छ । अनि संगठन बलियो हुन्छ ।’

प्रहरीमा ३० र ३२ बर्षे समयावधिको कुरा आएपछि राजनीतिको प्रत्यक्ष प्रभाव परेको उनको ठम्याई छ । यस्तो समस्या समाधानका लागि प्रहरी ऐन खडा गरी प्रहरीको सेवाका सर्तहरू ऐनमा नै उल्लेख हुनुपर्ने खरेलको मत छ ।