१२ मंसिर २०८३, शनिबार

ओली फर्किएपछि न्यानो होला नेता नेपालसँगको सम्बन्ध ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । भोली (बुधबार) उपचारको प्रक्रिया सकिएपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुने बताइएको छ । उनलाई लिनका लागि नेकपा महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर उडिसकेका छन् ।

प्रधानमन्त्री ओली स्वयम्ले शुक्रबार फर्किने सन्देश सुनाउनका लागि संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भनेका थिए । यसबीचमा नेकपा सचिवालयको बैठक दुई पटक बस्यो केही बाहेक खास निर्णयका लागिचाहिँ ओलीकै स्वदेश फिर्ता हुनुपर्ने जनाइएको छ ।

यद्यपि, ओली उपचारमा जाने दिन बसेको सचिवालय बैठकमा नेता माधवकुमार नेपालसँग भएको भनाभनबारे चर्चा सेलाएको छैन । अब, ओली–नेपालबीचको इखको सम्बन्ध न्यानो हुनेछ वा अझ चिसिएर जानेछ ?

स्वास्थ्य उपचारका लागि जाने क्रममा नै ओलीले नेपालको स्वास्थ्यलाभको शुभकामना नलिएको चर्चा छ । यसबीचमा उपचारका क्रममा पनि नेपालले ओलीको स्वास्थ्यबारे एक पटक पनि बुझ्ने कोशीश गरेनन् । बरु, सचिवालयका अन्य पदाधिकारीले उपचारका लागि पुगेका उनका आफन्त र सहयोगीसँग सोधेका थिए ।

‘स्वास्थ्य जस्तो विषयलाई पनि ख्याल नगरी भएको भनाभनले तत्काल सम्बन्ध बलियो हुने आधार देखिँदैन, प्रधानमन्त्री ओलीले पनि नेता नेपालको त्यो प्रस्तुतीलाई नमिठो मान्नु भएको सतहमा नै आइसक्यो’, नेकपा उच्च स्रोतले भन्यो,‘सम्बन्धलाई बलियो बनाउनका लागि मध्यस्तताको भूमिकामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उभिएको जस्तो देखिनुभएको छ । तर सबै ओली देश फर्किएपछि नै थाहा हुनेछ ।’

५ भदौमा उपचारका लागि ओली जानासाथ ६ भदौमा अघिल्लो दिनको भनाभनको विषयलाई ठूलो विषय नबनाई मिलेर जानुपर्छ भन्ने परामर्शका लागि नेपाल अध्यक्ष प्रचण्डको निवास पुगेका थिए । प्रचण्डले पार्टीमा बैमनश्यताको अवस्था आउन नहुने भन्दै मध्यस्तता गरेर मिलाउने आश्वासन दिएका थिए ।

त्यसो त सतहमा आए जस्तो ओलीलाई आफूले शुभकामना दिन्न नभनेको बरु, उनले नै लिन्न भनेको तर्क नेपालले गर्दै आएका थिए । तत्कालिन एमालेमा दुई गुटको नेतृत्व गरेका ओली–नेपालको सम्बन्ध नवौं महाधिवेशनबाट भने खासै कसिलो देखिएको थिएन ।

ओली विदेशमा रहेका बेला विभिन्न विज्ञप्ति जारी गर्न र विवादीत निर्णयमा सघाउनका लागि नेपालको भूमिका नै केन्द्रमा रहेपछि मनमुटाव बलियो थियो । पछिल्लो पटक भने बामदेव गौतमलाई उपाध्यक्ष बनाउने ओलीको प्रस्ताव र चौथो बरियतामा रहेका झलनाथ खनाललाई तेस्रोमा ल्याएपछि नेपालसँगको सम्बन्ध चिसो बनेको थियो । ओली फर्किएपछि बस्ने सचिवालय बैठकमा यस विषयमा सहजीकरणका लागि प्रचण्ड अग्रसर हुने देखिएको छ ।