काठमाडौँ, ११ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणमा भएको गत्यावरोध, सहमतिको सम्भावना र विवादका विषयमा विभिन्न सञ्चार माध्यमका सम्पादकलाई जानकारी गराउनुभएको छ ।
सोमबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले संविधानसभालाई सत्तारुढ दलले नियमित संसद् बनाउन खोजेकाले समस्या पैदा भएको बताउनुभयो ।
संविधानसभाबाट संविधान लेख्ने कुरा प्रमुख दलहरुबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच विगतका भएका सहमति नै भएको तर्क गर्दै उहाँले ऐतिहासिक राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने वा नगर्ने भन्ने विषय नै प्रमुख विषय भएको बताउनुभयो ।
इमान्दारिताका साथ दलहरु संवादका लागि तयार भए संविधानका अन्तवस्तुमा सहमति जुटाउन कुनै पनि समस्या नरहेको तर्क गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “विगतका सहमति र सम्झौतालाई केन्द्रबिन्दुमा राख्ने र दलीय अहम् नराख्ने हो भने विवादित विषयमा सहमति हुन सक्छ तर त्यस खालको इच्छाशक्ति नेपाली काँग्रेस र नेकपा एमालेमा देखिएको छैन ।”
दलहरुबीच राज्य पुनःसंरचनाबाहेक न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपका विषयमा सहमति भएको भएपनि अन्तिम निर्णय गर्ने बेलामा सबै दल सहमत नभएको भन्दै उहाँले हाल पनि नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष तहका नेतासँग अनौपचारिक संवाद भइरहेको जानकारी दिनुभयो ।
“संवाद नै नभएको भन्ने होइन, अनौपचारिक संवाद जारी छ, तर हालसम्म ठोस प्रगति भइसकेको छैन । गत माघ ५ गते कै आसपासमा संवाद जारी रहेको छ तर फागुन १६ गते अगावै औपचारिक वार्ता हुने सम्भावना भने रहेको छैन”– अध्यक्ष दाहालले भन्नुभयो, “सत्तारुढ दलमा रहेको बहुमतको दम्भ र अहङ्कार छाडेर साँच्चै मुलुकलाई निकास दिने ढङ्गले उहाँहरु आउने हो भने संवाद सुरु हुन सक्छ ।”
मङ्गलबार संवैधानिक परिषद्को बैठक बोलाइएकाले प्रधानमन्त्रीसँग राजनीतिक गत्यावरोध टुङ्गो लगाउने विषयमा संवाद हुन सक्ने उहाँको भनाइ थियो ।
आफूहरुले कहिल्यै पनि एकल जातीय राज्यको पक्षमा वकालत नगरेको स्पष्टीकरण दिँदै उहाँले सबै वर्ग, क्षेत्र, लिङ्गलाई अधिकार सम्पन्न बनाउने कि नबनाउने भन्ने विषय नै मुख्य रहेको धारणा राख्नुभयो ।
एकल जातीय राज्यको पक्षमा त काँग्रेस, एमाले नै रहेको आरोप लगाउँदै अध्यक्ष दाहालले एक जाति, एक भाषा, एक वर्ग भन्ने पक्ष एकल जातीय कि सबैलाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने पक्ष जातीय ? भन्ने प्रतिप्रश्न गर्नुभयो ।
उहाँले पहिचान दिँदा विवाद हुन सक्छ भन्ने तर्क काँग्रेस, एमालेको भएपनि पहिचान नदिदा झन् द्वन्द्व बढ्न सक्ने उहाँको भनाइ थियो । सत्ता साझेदारीको विषयमा कुरा नमिल्दा संविधान निर्माणको विषय आझेलमा परेको हो भन्ने प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो, “सहमतिमा संविधान निर्माण हुने र संविधान घोषणा हुने मिति तय भयो र राष्ट्रिय सहमतिको सरकार गठन हुनै पर्ने अवस्था आयो भने त्यस्तो हुन सक्छ । तर एमाओवादीले पद खोज्यो भन्ने कुरा गलत छ ।”
आफूले कुनै पनि पद नखोजेको जानकारी दिँदै उहाँले राष्ट्रपति पद खोजेको भन्ने विषय कहीँकतैबाट नमिल्ने र तर्कसङ्गत नभएको बताउनुभयो । सहमति निर्माणका लागि सबैले सकारात्मक योगदान गर्नुपर्नेमा उहाँको आग्रह थियो । रासस
















प्रतिक्रिया