जाजरकोट, ११ फागुन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफू सहमति विरोधी नभएको दावी गरेका छन् ।
एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाका पश्चिम कमाण्डर समेत रहेका भट्टराईले जाजरकोट पुगेर मैले सहमति भाड्न खोजेको छैन् भन्नुभयो । सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ३० दलिय मोर्चाले सहमति गर्न चाहेपनि बाबुरामले बाँझो हालेको भन्ने अभिव्यक्ती झुटो भएको बताउनुभयो ।
‘मलाई सहमतिको विरोधी हो भनेर दुनियाँका सामु भ्रम फैलाउने काम भएको छ, यसको म घोर भत्र्सना गर्दछु, साथै म यो पनि भन्न चाहन्छु की म पनि वार्ताकै पक्षमा छु, तर वार्ता सार्थक हुनुपर्छ, जनता झुक्काउने र ढाँटने वार्ताको पक्षमा म छैन, हाम्रो मोर्चा पनि छैन्‚’ उहाँले भन्नुभयो ।
सत्तापक्ष दलहरुले जनताको संविधान बनाउन नचाहेकाले सहमति हुन नसकेको उहाँको जिकिर छ । ‘हामीले नयाँ भन्दापनि संविधानसभाबाट जनताको संविधान बनाउन चाहेका छौं, तर सत्तापक्ष दलहरु त्यो चाहदैनन्, हाम्रो विवाद यही नेर हो,’ उहाँले भन्नुभयो ।
नेता भट्टराईले माघ ११ गते संविधानसभाले नियम मिचेर अगाडि बढाएको प्रक्रिया खारेज नभएसम्म कुनै हालतमा वार्ता नहुने अडान दोहोर्याउनुभयो । प्रक्रिया अगाडी बढाएर कांग्रेस एमालेले संविधानसभालाई अपहरण गरेको उहाँको आरोप छ ।
सरकारले लिखित रुपमा आफ्ना मागहरुलाई सम्बोधन गर्नेगरी प्रतिबद्धता जनाए विपक्षी मोर्चा वार्तामा बस्ने उहाँको धारणा छ । पश्चिम कमाण्डर तोकिएका भट्टराई कार्यकर्तालाई आन्दोलनको बारेमा प्रशिक्षण दिन जिल्ला दौडाहा छन् ।















प्रतिक्रिया