
झापा, ८ भदौ । एयरहोस्टेज हुँ भन्दै ठगीमा संलग्न रहेको आरोपमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेकी छिन् ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडले दुई युवकको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले गुराँस र गरिमा श्रेष्ठको नक्कली फेसबुक आईडी बनाएर पुरूषलाई माया जालमा पार्दै ठगी गर्ने गरेको भेटिएको हो ।
उनले आफू जेट एयरलाइन्समा कार्यरत् भएको बताउने गरेकी थिइन् भने बुबा अमेरिका बस्ने र आमा डाक्टर भएको बताउँदै घराना परिवारको सदस्यका रुपमा चिनाउँदै ठगी गर्ने झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले जनाएका छन् ।
मोबाइल र म्यासेन्जरको निरन्तरको कुराकानीपछि उनले आफूलाई आकस्मिक समस्या देखाएर पुरुषसँग रकम माग्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनले अहिलेसम्म ६ लाख बीस हजार रुपैयाँ बराबरकाे ठगी गरेकाे प्रहरीले जनाएकाे छ । जसमा ५ लाख रुपैयाँ नगद र १ लाख बीस हजार बराबरकाे आईफाेन रहेकाे जनाइएकाे छ ।
राईले इन्स्टाग्रामबाट एयर होस्टेजको फोटो निकालेर नक्कली फेसबुक प्रोफाइल बनाएको भेटिएको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ठगी कसूर अन्तरगत कानूनी कारबाही हुने प्रहरीले जनाएको छ ।












प्रतिक्रिया