२९ आश्विन २०८३, बिहिबार

‘कबड्डी’को सिक्वेलले मुस्ताङ रोज्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1काठमाडौं । वर्ष २०७१ को सुरुमै प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’ निर्माण घोषणा गरिएको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र घोषणासँगै यही फागुन २५ गतेदेखि चलचित्रको छायांकन थालिने जानकारी दिइयो ।

चलचित्रका पात्र, छायांकन स्थान, प्रेमकथालगायत धेरै विषय उस्तै भएपनि एक कलाकार सौगात मल्ल अभिनयमा थपिने भएका छन् । ९५ प्रतिशत दृश्य पहिलो चलचित्र झै मुस्ताङमा खिचिने कार्यक्रममा जानकारी गराइयो ।

कबड्डीमा पहिले प्रेमकथामात्र उठाइएको र सिक्वेलमा प्रेम र राजनीति उठाउन खोजिएको छ । ‘कबड्डी कबड्डी’ प्रेम र राजनीतिको भीडन्त भएको निर्माण पक्षको भनाइ छ ।

कबड्डीका रहेका नायक काजीको ‘लभस्टोरी’को निरन्तरताकै विषय चलचित्रको मुलकथामा उठाइने छ । ‘कबड्डी’जस्तै ‘कबड्डी कबड्डी’ पनि हाँस्यप्रधान चलचित्र हो । आफ्नो प्रेम र उदेश्य प्राप्तीका लागि लडीरहने पात्रहरु तथा तिनीहरुबाट सिर्जित परिस्थिति जन्य घटनाक्रमहरुले चलचित्रलाई हाँसोमय बनाउने आसा निर्माण पक्षको छ ।

चलचित्र रामबाबु गुरुङले नै लेखेका हुन् । निर्देशन पनि उनले नै गर्नेछन् । लेखनमा भने उनलाई कवि उपेन्द्र सुब्बाले साथ दिएका छन् ।

चलचित्रमा दयाहाङ राई, रीश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, शिशिर बाङदेल, अरुणा कार्की, पशुपति राई, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, जुनु विष्ट, उपेन्द्र सुब्बा, सौगात मल्ल लगायतको अभिनय रहने छ ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस् प्रालिको ब्यानरमा बन्न लागेको यो चलचित्र निश्चल बस्नेतको कार्यकारी निर्माण र सुनीलचन्द्र रौनियार र रौनकविक्रम कँडेलको निर्माण बन्ने भएको हो । रोहित शाक्यले चलचित्रको संगीत गर्ने भएका छन् ।