
काठमाडौँ, ४ भदौ । सत्तारुढ दल नेकपाका सांसदहरुले नेपाल-भारतबीच भएको जलश्रोत सम्बन्धी सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन् ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमन राज प्याकुरेल र सांसद कोमल ओलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको टिप्पणी गरे ।
सांसद सुमन राज प्याकुरेलले कोशी सम्झौता हुँदा बाढी र डुबानले पीडित हुनेहरुलाई क्षतिपुर्ति अनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर सुनसरी र सप्तरीका जनता पीडित बनेको बताए । उनले आजबाट सुरुहुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्षसँग बार्ता गर्न माग गरे ।
यस्तै, बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कोमल ओलीले नेपाल-भारतबीच प्राकृतिक श्रोत बाँडफाँड सम्बन्धी भएका सम्झौता पुनरावलोकन गर्न माग गरिन् ।
दुई देशबीच हुने सम्झौता ‘विन विन’को आधारमा हुनुपर्ने भन्दै जलस्रोत, तटबन्ध सडक जस्ता बिषयमा भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताइन् । आजबाट सुरु हुने संयुक्त आयोगको बैठकमा सम्झौता कार्यान्वयन गर्ने बिषयमा छलफल गर्नुपर्ने ओलीको भनाई छ।











प्रतिक्रिया