
भरतपुर, ४ भदौ । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।
हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका साइकलयात्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अन्दाजी ३०/३५ वर्षीय मृतक साइकलयात्रीको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
यसैबीच, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालीका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे०५जिबी ४१६७ नंको ट्रक दुर्घटनामा परेको हो ।
ट्रक आफै अनियन्त्रित भएर सडकछेउ विद्युत्को पोलमा ठोक्किएर सडकदेखि करीब २० मिटर तल खस्दा चालक भारत उत्तर प्रदेश जोगरा बस्ने ३५ वर्षीय सुल्ताङ सिंहको मृत्यु भएको हो ।
चालक सुल्ताङको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।
दुर्घटनामा परेर घाइते भएका सहचालक ३१ वर्षीय जोगेन्द्र सिंहको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । -रासस











प्रतिक्रिया