
काठमाडौँ, ३ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्ने नाममा संविधानविरोधी नारावाजी भएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरुले चिन्ता पनि व्यक्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले अनुसन्धान चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको भन्दै आपत्ति जनाइन् ।
‘को दोषी, को निर्दोष भन्ने कुरा अदालतमा चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही होइन,’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’
त्यस्तै, नेकपाका सांसद हितबहादुर तामाङले चितवनको सडकमा संविधानविरोधी नारा लागिरहेको भन्दै सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।
‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा संविधानविरोधी नारा लाग्न थालेको पनि सुन्नमा आएको छ’, उनले भने, ‘त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार सक्रिय होस् । राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष छानबिन गर्नुपर्छ ।’
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।
उनीहरुलाई म्याद थपका लागि आजै अदालत पेश गरिएको छ । उनीहरु पक्राउ परेयता खासगरी लामिछानेको समर्थनमा चितवनमा दिनहुँजसो प्रदर्शन भइरहेका छन् ।











प्रतिक्रिया