मालद्वीप, १० फागुन । मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नसिदले तीन वर्ष अगाडि आफू पदमा रहेको समयमा एक न्यायाधीशलाई गैरकानुनी रूपमा पक्राउ गरेको आरोपमा उहाँलाई आतङ्क नियन्त्रण कानुनअनुसार प्रहरीले आइतबार पक्राउ गरेको छ ।
नसिद मुलुकका प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति हुनुहुन्थ्यो र उहाँलाई यस मुलुकको राजधानी मालेमा हिरासतमा राखिएको जानकारी प्रहरीले दिएको छ ।
उहाँ सन् २००८ मा शासनमा आउनुभएको थियो र प्रहरी तथा सेनाले उहाँविरुद्ध विद्रोह उहाँ चार वर्षपछि पदबाट हट्नुभयो ।
नसिदलाई दिइएको पक्राउ आदेशमा उहाँलाई मुलुक छोडन पनि प्रतिबन्ध लगाइएको छ ।
नसिदले सन् २०१२ को जनवरीमा तत्कालिन फौजदारी अदालतका मुख्य न्यायाधीश अब्दुल्लाह मोहमदलाई पक्राउ गर्न आदेश दिनुभएको थियो र गत साता सरकारी वकिलले उहाँले आफ्नो पदको दुरूपयोग गरेको भन्ने अभियोग हटाएका थिए ।
यसो भए पनि आइतबार उहाँलाई सोही आरोपमा कडा आतङ्क नियन्त्रण ऐन अनुसार अभियोग लगाइएको छ । न्यायाधीश मोहमदले भ्रष्टाचार गरेको आरोप लगाइएको थियो ।
यसै मुद्दामा आफूलाई पक्राउ गर्न नदिन सन् २०१३ मा नसिदले भारतीय उच्चायोगमा शरण लिनुभएको थियो ।
उहाँले सन् २०१३ मा भएको विवादास्पद निर्वाचनमा पूर्व शक्तिशाली व्यक्तित्व मौमुन अब्दुल गयुमका भाइसँग हार्नुभएको थियो । गयुमले तीन लाख ३० हजार सुन्नी मुसलमान बसोबास गर्ने यस मुलुकमा तीन दशकसम्म शासन गर्नुभएको थियो । रासस/एएफपी















प्रतिक्रिया